• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वर्षा रोकिए पनि बाढी पीडितको कम भएन पीडा

राजविराज, ३० साउन । आइतवार दिउँसोदेखि वर्षा रोकिएका कारण बस्तीहरुमा बाढीको पानीको मात्रा कम हुँदै गए पनि पीडा भने झन बढ्दैगएको छ ।

खाँडो, जिता, सुन्दरी, महुली, घोडदह, मुतनी, त्रियुगा, बलान लगायतका नदीहरुमा आएको बाढीका कारण जिल्लाको डेढ दर्जन भन्दा बढी गाउँहरुमा पूर्ण रुपमा डुबानमा परेको थियो भने भने जिल्लाभरीमा करिब १० हजार भन्दा बढी परिवार प्रभावित भएका छन् । करिब पाँच हजार परिवार सार्वजनिक स्थलहरुमा आश्रय स्थल बनाएर बसिरहेका छन् । यसैगरी बाढीले जिल्लाको ५ नगरपालिका र ६ गाउँपािलकाका १३ स्थान गरी २५ घर बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्लामा पुर्ण रुपमा डुबानमा पर्ने घर संख्या ३ हजार ६ सय ९० पुगेको छ । यद्यपी डुबानमा परेको घरको संख्याबारे संकलन कार्य जारी रहेकोले यो संख्या अझ बढ्दैगएको छ । जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको ईकाईहरुमार्फत बाढी पीडित तथा डुबानमा परेको घरहरुबारे तथ्यांक संकलन भईरहेको जनाईएको छ । निरन्तरको वर्षाले राहत तथा उद्धार कार्य प्रभावित बनेपनि सोमवारदेखि मौषम सफा भई वर्षा रोकिएकाले राहत तथा उद्धार कार्यलाई तिव्रता दिईएको छ । वाढि प्रभावित क्षेत्रमा नेपाल र शसस्त्र प्रहरीका साथै सेनाको सहभागितामा राहत उद्धार तथा भत्केको बाटो मर्मत कार्य तिव्र स्तरमा भईरहेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

जिल्लाको तिलाठी, सकरपुरा, कुशहा, बनरझुला, टिकुलिया, बनरझुला, चट्टी टोल, गोबरगाढा, मल्हनियाँ, गोबरगाढा, हनुमाननगर कंकालिनीमाई नगरपालिकाको विभिन्न वडा, तिलाठी कोइलाडी गाउँपालिकाका वडाहरु, राजविराज नगरपालिकाको विभिन्न वडाका सहित डेढ दर्जन भन्दा बढी गाउँहरु डुबानमा परेको थियो । राजविराज नगरपालिकाको साविक वडा नम्वर ३ हाल ४ का आधा दर्जन भन्दा बढी घर भलुवाही नदीले बगाएको छ । घरघरमा पानी पसेका कारण चुलोसम्म बाल्नसक्ने अवस्था नरहेकोले घर बगाएका तथा डुबानमा परेका परिवारहरु छिमेकीको घरमा शरण लिएर बस्दैआएका छन् ।

बस्तीहरुमा विस्तारै पानीको मात्राको घट्दै गईरहेको भए पनि बस्ती अझै हिलाम्मय रहेका कारण बस्नसक्ने अवस्था नरहेको पीडितहरुले बताएका छन् । घरहरुमा रहेको खाद्यान्न सामग्री, लत्ताकपडा, भाडावर्तन समेत बाढीले बगाएको छ । माटाका चुलोहरु बगाएको तथा कतिपय काम नलाग्ने अवस्थामा रहेकोले खाना पकाउनसक्ने अवस्था छैन ।बस्तीसम्म पुग्ने बाटो तथा पुलहरु बाढीले बगाएका कारण बस्तीसम्म पुग्नसक्ने अवस्था नरहेकोले डुङ्गामा चढेर आवतजावत गर्ने गरेको कुशहाका बाढीपीडितहरुले जानकारी दिएका छन् ।

आफुहरु बालबच्चासहित बाँधमा शरण लिएर बसिरहेको रामप्रसाद मुखियाले भने ‘चारदिनदेखि बालबच्चासहित बाँधमा पाल टाँगेर बस्दैआएका छौं, अहिलेसम्म राहतको रुपमा मुरही चिउरासम्म पाएका छैनौं । भोकभोकै रात काट्नुपरेकोले आवश्यक सहयोग गर्न उनीहरुले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।यता बाढी प्रभावित बस्ती तथा बाँधमा शरण लिएर बसेका अस्थायी बस्तीहरुमा रोगव्याधीको समस्या देखिएको छ । खासगरी ज्वरो, रुघाखोकी, टाउँको दुख्नेलगायतका समस्याहरु देखिएको पीडितहरुले सञ्चारकर्मीहरुसमक्ष गुनासो पोखेका छन् ।

यसैबीच राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डा. रणजित कुमार झाले बाढी प्रभावित बस्तीहरुमा पुगेर स्वास्थ्य समस्याबारे सोमवारै जानकारी लिएका छन् । बाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भईरहेको बताएका छन् ।

सप्तरीको अधिकांश भू–भाग बाढीका कारण जलमग्न भएका छन् भने किसानले हज्जारौं हेक्टर जग्गामा लगाएको धानबाली नष्ट भएको छ । सयौं विघा जग्गा समेत कटानमा परेको छ ।सञ्चार–विद्युत सेवा सुचारुअविरल वर्षा र बाढीसँगै शनिवार रातीदेखि गायब भएको नेपाल टेलिकम र एनसेलको नेटवर्क पूर्ववत सञ्चालनमा आएको छ । एनसेल आइतवार २ बजेदेखि सञ्चालनमा आएको छ भने नेपाल टेलिकमको नेटवर्क सोमवार विहान तीन बजेदेखि सञ्चालनमा आएको छ । नेटवर्कहरु सुचारु भएपछि मोबाइल, टेलिफोन, इन्टरनेटलगायतका सेवाहरु पूर्ववत चल्न थालेका छन् ।

 ठाउँठाउँमा विद्युत पोल बगाएका कारण सप्तरी जिल्लाको कतिपय स्थानहरुमा विद्युत सञ्चालनमा आए पनि ग्रामिण भेगमा अझैं विद्युत सेवा पूर्ववत सञ्चालन हुनसकेको छैन । विभिन्न स्थानमा सडकहरु समेत कटानमा परेकोले यातायात सेवा अझैं पनि पूर्ण रुपमा सञ्चालनमा केही समय लाग्ने जनाइएको छ