• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बाढीले दश हजार परिवार प्रत्यक्ष प्रभावित, पाँच हजार विस्थापित, सञ्चार र यातायात समेत अवरुद्ध 

बाढीले दश हजार परिवार प्रत्यक्ष प्रभावित, पाँच हजार विस्थापित, सञ्चार र यातायात समेत अवरुद्ध 

राजविराज, २९ साउन । विगत पाँच दिनदेखि अविरल वर्षासँगै सप्तरीको विभिन्न नदीमा आएको बाढीले सर्वसाधारणको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ ।

अविरल वर्षा र बाढीका कारण जिल्लाको विभिन्न गाउँ तथा नगरहरुमा आएको बाढीका कारण करिब १० हजार भन्दा बढी परिवार अत्यधिक प्रभावित भएका छन् भने करिब पाँच हजार परिवार विस्थापित भएका हुन् । खाँडो, जिता, सुन्दरी, महुली र सप्तकोशीको बाढी गाउँमा पस्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ५, ६, २, १ का ३ हजारबढी स्थानीय वासिन्दा गाउँमा फँसेका छन् । यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँका ३ हजार बढी वासिन्दा बाढीका कारण गाउँमा फँसेका छन् । केहीलाई स्थानीय प्रशासनले डुंगाको सहयोगमा सुरक्षित स्थान तर्फ ल्याइरहेका छन् । वर्षा नरोकिँदा र डुुँगाको अभावमा उद्धारमा समस्या भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिनुभएको छ ।

बाढीका कारण सप्तरीको तिरहुत गाउँपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, डाकनेश्वरी नगरपालिका र बोदे बर्साइन नगरपालिकाका पाँच हजार विस्थापित भएका छन् । यता राजविराज सदरमुकाम पूर्ण रुपमा जलमग्न भएका छन् । राजविराजको विभिन्न वडामा स्थानीयवासीको घरमा ५ फिट सम्मको पानी जमेको छ ।

राजविराज नगरपालिकाको साविक वडा नम्वर ३ हाल ४ का आधा दर्जन भन्दा बढी घर भलुवाही नदीले बगाएको छ । घरघरमा पानी पसेका कारण चुलोसम्म बाल्नसक्ने अवस्था नरहेकोले घर बगाएका तथा डुबानमा परेका परिवारहरु छिमेकीको घरमा शरण लिएर बसेका छन् । जिल्लाको तिलाठी, सकरपुरा, कुशहा, बनरझुला, चट्टी टोल, गोबरगाढा, मल्हनियाँसमेत गरी करिब एक दर्जन टोलका वासिन्दाहरु बस्तीबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको तथा घरहरु समेत डुबानमा परेकोले लालाबालासहित भोकै बस्न बाध्य भएका छन् । बस्तीको चारैतर्फ अत्यधिक पानी बगिरहेका कारण वाहिर निस्कन सक्ने अवस्था रहेको छैन । यसैगरी महुली नदीको बाढी भारदह, पोर्ताहालगायतका गाउँहरु समेत डुबानमा परेको छ । भारदह स्थित कंकालिनी मन्दिर परिसर समेत जलमग्न भएको छ । आसपास क्षेत्रका वासिन्दाहरु घर छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा लागेका छन् । सप्तरीको अधिकांश भू–भाग बाढीका कारण जलमग्न भएका छन् भने किसानले हज्जारौं हेक्टर जग्गामा लगाएको धानबाली नष्ट भएको छ । सयौं विघा जग्गा समेत कटानमा परेको छ । अविरल वर्षा र बाढीसँगै नेपाल टेलिकम र एनसेलको नेटवर्क शनिवार रातीदेखि गएकोले मोबाइल, टेलिफोन, ईन्टरनेट लगायतका सञ्चार सेवा अवरुद्ध भएको छ । यस्तै ठाउँठाउँमा विद्युत पोल बगाएका कारण सप्तरी जिल्लाको विद्युत सेवा समेत अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडकहरु समेत कटानमा परेकोले यातायात सेवा समेत ठप्प रहेको छ ।बाढीले राजविराज¬–रुपनी सडक खण्डको मलेठमा र राजविराज–कुनौली सडक खण्डको रञ्जितपुरमा पुल बगाउँदा सदरमुकामसँग सम्पर्क विच्छेद भएको छ । यता राहत तथा उद्धार कार्य एकदमै फितलो देखिएको छ । गाउँ–टोलसम्म पुग्ने बाटो तथा पुलहरु बगाएका कारण बाढीमा फँसेका बाढी पीडितहरुलाई सुरक्षित गन्तव्यसम्म जान सकिरहेका छन् । बाँध तथा सडकहरुमा बसेका परिवारहरुलाई तत्काल त्रिपाल, खाद्यान्न सामग्रीका साथै ओढ्ने तथा ओछ्याउनेको समेत अति अभाव रहेको छ । हालसम्म राहत तथा उद्धार कार्यमा स्थानीय प्रशासन तथा संघसंस्थाले हालसम्म अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको भन्दै बाढी पीडितहरुले आक्रोश व्यक्त गरेका छन् ।