राजविराज, २७ साउन । विगत तीन दिन यताको अबिरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीका कारण एक हजार दुई सय घर डुबानमा परेका छन् चार सय परिवार विस्थापित भएका छन् ।
जिल्लाको खाँडो, जिता, बिहुल, त्रियुगालगायतका नदीहरुमा आएको बाढीका कारण घरहरु डुबानमा परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् ।
कोशी नदीको पानी पसेर हनुमाननगर योगिनीमाई नगरपालिकाको वडा नम्वर ७ र १४ मल्हनियाँ टोलको ३ सय १० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४ सय घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै राजविराज नगरपालिकाको वडा नम्वर–१०, विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिबथान, देउरीभरुवा, पकरीसहितका वस्तीहरु बाढीको उच्च जोखिममा परेको छ ।
यस्तै राजविराजको मुख्य बजार क्षेत्रमा समेत ३ फिटसम्म पानी जमेको छ ।यता सप्तकोशी नदीमा जल स्तर बढ्दैगएकोले ब्यारेजको ३१ ओटा ढोका खोलिएको छ । यस्तै टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानीमा पसेपछि स्थानीयवासिन्दाहरु सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् । अविरल वर्षा र बाढीका कारण सप्तरी जिल्लाको जनजीवन कष्टकर बन्न पुगेको छ । बाढीको प्रवाह नरोकिएकाले बाढीपीडितहरुलाई थप समस्या भएको छ ।

