राजविराज, २७ साउन । जिल्ला दैवीप्रकोप उद्धार समितिको शुक्रवार बसेको बैठकले खाँडो नदी नियन्त्रणका क्रममा भासिएर बेपत्ता भएका सप्तरीको देउरीभरुवाका डोमी यादवको परिवारलाई रु १० लाख दिने सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मृतक यादवका परिवारलाई काजक्रियाबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रजिअ कटवालले जानकारी दिएका छन् ।
राजविराज नगरपालिका–१५, देउरीभरुवा स्थित खाँडो नदीको कटान रोक्न सुरक्षा निकायलाई सहयोग पुर्याउने क्रममा माटाको ढिस्कोमा पुरिएर ६० वर्षीय यादव बिहीबार वेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले खोजी कार्य जारी राखे पनि उनको शव हालसम्म फेला पर्न सकेको छैन ।
सोही बैठकले हनुमानगर कंकालनी नगरपालिका, रम्पुरा मल्हनियाँ, डलवा र तिलाठीका बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउने र वासकालागि पालको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यस अघि महुली नदीको बाढीले रघुनाथपुर र पौवाँका विस्थापित परिवारलाई २५ हजार रुपैयाँका दरले प्रमुख जिल्ला अधिकारी कट्वालले उपलब्ध गराएका छन् । कञ्चनरुप नगरपालिका–९ रघुनाथपुरका अवधी यादव, अनिता देवी यादव, हिरादेवी यादव, रुको देवी यादव, रुपनी गाउँपालिका पौवाँकी देवली देवी र घुरन मरिकलाई उक्त रकम उपलब्ध गराईएको छ ।
जिल्लाभरिमा बाढीबाट प्रभावित भएका परिवारको अविलम्व तथ्यांक संकलन गरी बढीमा १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय सोही बैठकले गरेको छ ।
यसैगरी शिरिष फूल संस्थाका अध्यक्ष रामकुमार खातीले बाढी पीडितहरुकोलागि ल्याएको राहत सामग्री प्रजिअ कट्वाललाई हस्तान्तरण गरेका छन् । राहत सामग्रीमा १ सय ८० पोका चामल, कपडा, चार थान ठूलो टेन्ट रहेको छ । रुक्माङ्गत कटवाल ट्रष्ट, बर पीपल युवा क्लव, अंगरक्षा वाहिनीको सहयोगमा काभ्रे जिल्लाबाट उक्त राहत उपलब्ध गराईएको छ ।