• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बाढीले सप्तरी अस्त–व्यस्तः अझैं फेला परेन वेपत्ता डोमीको शव

बाढीले सप्तरी अस्त–व्यस्तः अझैं फेला परेन वेपत्ता डोमीको शव

राजविराज, २७ साउन । सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरीभरुवामा खाँडो खोलामा विहीवार अपरान्ह माटोले पुरिएर बेपत्ता भएका स्थानीय डोमी यादवको शव अझैं फेला पर्न सकेको छैन ।
खाँडो नदीको तटबन्ध कटान रोकथाम गर्ने क्रममा स्थानीय ६० वर्षिय यादवको माटोको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन् । देउरीभरुवामा बाँध कटान हुन थालेपछि नियन्त्रणको प्रयासमा नेपाली सेनासँगै लागेका उनी करिब १२.३० बजेको समयमा खोलामा माटोले पुरिएर वेपत्ता भएका थिए ।
सुनसरीको ईटहरीबाट आएको सशस्त्र प्रहरीको उद्धार टोलीले वेपत्ता भएका यादवको खोजी कार्य विहीवारैदेखि जारी रहे पनि हालसम्म शव फेला पर्न सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी र नेपाली सेनाको टोली डुङ्गासहित गोताखोरहरुले खोजी कार्य अझैं जारी राखेका छन् ।
यता वर्षा नरोकिएका कारण तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४ सय घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै हनुमाननगर कंकालिनी गाउँपालिकाको वडा नम्वर–७ मा ६० घर, डलवाको एक दर्जन घरमा पानी पसेको छ ।
यता राजविराज नगरपालिकाको वडा नम्वर–१०, विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिबथान, देउरीभरुवा, पकरीसहितका वस्तीहरु बाढीको उच्च जोखिममा परेको छ । यस्तै राजविराजको मुख्य बजार क्षेत्रमा समेत ३ फिटसम्म पानी जमेको छ ।
यता सप्तकोशी नदीमा जल स्तर बढ्दैगएकोले ब्यारेजको ३१ ओटा ढोका खोलिएको छ । यस्तै टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानीमा पसेपछि स्थानीयवासिन्दाहरु सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् । प्राप्त जानकारी अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ को कुशहा टोलमा समेत बाढीको पानी पसेपछि ५० परिवार जोखिममा परेको छ ।
यता वेपत्ता डोमीको शव अझैं फेला नपरेकोमा आक्रोशित स्थानीय वासिन्दा देउरीभरुवामा विहान राजविराज–हनुमानगर सडकखण्ड अवरुद्ध पारेका थिए ।