राजविराज, २६ साउन । सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरीभरुवामा खाँडो खोलाको भत्किदै गरेको तटबन्ध रोकथाम गर्ने क्रममा विहीवार अपरान्ह माटोले पुरिएर एक जना बेपत्ता भएका छन् ।
खाँडो नदीमा आएको बाढीले गर्दा तटबन्ध कटान भईरहेको अवस्थामा रोकथाम गर्ने क्रममा स्थानीय ६० वर्षीय डोमी यादव ढिस्कोमा पुरिएर बेपत्ता भएका हुन् । देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणको प्रयासमा नेपाली सेनासँगै लागेका उनी करिब १२.३० बजेको समयमा खोलामा माटोले पुरिएर वेपत्ता रहे पनि शव फेला पर्न सकेको छैन । 
स्थानीयवासिन्दाहरुले भने नेपाली सेनाको टोलीको सामुन्नेमै यादवलाई माटाले पुरे पनि उद्धारकालागि प्रयास नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । तटबन्ध कटान रोकथाम गर्ने क्रममा सेनासँग आवश्यक उद्धार सामग्री समेत तयारी अवस्थामा नरहेका कारण उनलाई बचाउन नसकिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
यसैगरी राजविराज नगरपालिकाको वडा नम्वर–१०, विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिबथान, देउरी भरुवाको बस्तीमा पानी पस्ने खतरा बढेको छ । विगत दुई दिनयताको वर्षाले गर्दा नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध कटान हुन थालेको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरु देउरीभरुवा पुगेका छन् ।
वेपत्ता भएका व्यक्तिहरुको खोजी भईरहेको तथा कटान नियन्त्रणकालागि समेत पहल भईरहेको प्रमुख जिल्ला अधिकारी कट्वालले बताएका छन् । सुनसरीको ईटहरीबाट आएको सशस्त्र प्रहरीको टोलीले वेपत्ता भएको स्थानमा अबेर साँझसम्म डुङ्गासहित गोताखोरको टोलीले खोजी कार्य जारी राखे पनि फेला पर्न सकेको छैन । तस्विरहरुः श्यामसुन्दर यादव/राजविराज



