• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शान्ति सुरक्षा प्रभावकारी बनाउन राजविराजमा सिसि क्यामरा जडान हुन्छः एसपी सिंह

शान्ति सुरक्षा प्रभावकारी बनाउन राजविराजमा सिसि क्यामरा जडान हुन्छः एसपी सिंह

राजविराज, २० साउन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहले सप्तरी शान्ति सुरक्षाको सम्वेदनशिलतालाई मध्यनजर गर्दै राजविराज नगरपालिका क्षेत्रमा सिसि टिभि क्यामरा जडान गर्ने बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघले शुक्रवार संघको कार्यालयमा प्रहरी उपरीक्षक सिंहलाई स्वागत तथा व्यापारीव्यवसायीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । व्यापारी व्यवसायीहरुलाई निर्धक्क रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उनले भने ‘शान्ति सुरक्षाको सम्वेदनशिलतालाई मध्यनजर गर्दै सरोकारवालाहरुसँग समन्वय गरेर राजविराज नगरपालिका क्षेत्रमा सिसि टिभि क्यामरा जडान गर्ने सोच बनाएका छौं ।’

आफु १२ वर्ष अघि राजविराज आउँदा तत्कालीन त्रिुभवन चौक हालको गजेन्द्र चौकमा खाल्डाहरुको पुरिनुपर्नेमा खाल्डाहरुको चौडाइ झन् बढेको छ, देशका कान्छो नगरहरुले निक्कै फड्को मारेको छ तर  राजविराजको अवस्था झन विग्रिँदै गएको छ ।’ देशमै वौद्धिक तथा राजनीतिक चेतनाको स्तर उच्च भएको यो जिल्लामा भ्रष्टाचारले चरम सिमा नाघेकोले अपेक्षाकृत रुपमा विकास हुन नसकेको एसपी सिंहले चर्चा गरे । भ्रष्टाचारले चरम सिमा नाघिसक्दा पनि कोही पनि नबोल्नुले जिल्लाको हालत यस्तो भएको टिप्पणी गर्दै एसपी सिंहले भने ‘अरुलाई दोष देखाउनुभन्दा मैले के गरेँ ?, मेरो जिम्मेवारी के हो ? भन्ने कुरा बझिदिए यो जिल्लाको चाँडै विकास हुनेमा शंका नगर्दा हुन्छ ।’ कार्यक्रममा सप्तरीका व्यापारी व्यवसायीहरुले राखेको जिज्ञासा तथा गुनासाहरुबारे प्रष्ट पार्दै उनले आफुहरु नियम कानूनको पालक भएकोले नियमानुसार निर्वाद्ध रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

प्रहरी उपरीक्षक सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न तथा चोरी तस्करी नियन्त्रण गर्न आफुले कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गरे । व्यापारी व्यवसायीलाई दुःख दिनु प्रहरीको नियत नरहेको बताउँदै उनले भने ‘सिमापारिका बजारहरुबाट ४–५ किलो दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारण जनताले ल्याउँछन् भने प्रहरीले अवरोध पुर्याउँदैन तर मालसामान चोरी तस्करी गर्छ भने त्यस्तालाई हामीले छाड्दैनौं । प्रहरीले सर्वसाधारण जनतालाई अनाहकमा दुःख दिएको वा रकम माग गरेमा सिधै आफुलाई जानकारी गराएका कार्वाही हुने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले जिल्लामा शान्ति सुरक्षाको अवस्था अझ दुरुस्त बनाउन तथा नगरको मुख्य सडकमा वन वे पार्किङ्गलाई व्यवस्थित बनाउन आग्रह गरे । आवश्यक कागजपत्र रहँदा रहँदै पनि स्थानीय व्यापारी व्यवसायीहरुलाई प्रहरीले अनावश्यक रुपमा दुःख दिने गरिएको स्मरण सुनाउँदै उनले भने ‘व्यापारी व्यवसायीहरुसँग आवश्यक कागज प्रमाण रहँदा रहँदै पनि वास्तविकता नबुझी मालसामान सिधै भन्सार कार्यालयमा बुझाउने गरिएकोले वास्तविकता बुझेर मात्र कार्वाही प्रक्रिया अगाडि बढाउन आग्रह छ ।’ संघका महासचिव अनन्त साहद्वारा सञ्चालित कार्यक्रममा  खाध बीज भण्डारका प्रोप्राइटर रामकृष्ण दास, यातायात व्यवसायी बसन्त साहलगायतका व्यवसायीहरुले आ–आफ्नो धारणा राखेका थिए ।