राजविराज, १७ साउन । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले फ्रि भिसा फ्रि टिकटको निर्णय हालसम्म कार्यान्वयन नभएका कारण वैदेशिक रोजगारीमा जानेहरु ठगीमा पर्ने गरेको बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराज स्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको गतिविधि तथा ठगीमा परेकाहरुसँग जानकारी लिने क्रममा उनले यस्तो कुरा बताएका हुन् । गरिब एवम् विपन्न व्यक्तिहरुको सुविधाकालागि सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय लिए पनि हालसम्म कार्यान्वयनमा आउन नसकेकोले यसलाई कठोरताकासाथ लागु गराउन आफु अगाडि बढ्ने बताउँदै उनले भने ‘ करिब दुई वर्ष अगाडि सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय लिएको छ, तर कार्यान्वयनमा आउन नसक्नु दुःखद हो ।’देशैभरीका जिल्लाहरुमा वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्ने गरेको बताउँदै मन्त्री मन्सुरले ठगहरु पोख्त रहेका कारण प्रमाण नछोड्दा कार्वाही प्रक्रिया समेत प्रभावकारी हुन नसकेको बताए ।
गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागत रुपमा ठगी भईरहेकोले यस विषयमा यसै महिनाभित्र नयाँ कदम चाल्न लागेको समेत उनले प्रतिवद्धता व्यक्त गरे । सूचना केन्द्र सञ्चालन भएयता १३ हजार ८ सय २ जनाले निःशुल्क सूचना परामर्श लिएका छन् भने ठगीमा परेका एक हजार ३१ जनाले सूचना केन्द्रमा न्यायकालागि निवेदन दर्ता गराएकोमा ६ हजार ६ सय ४१ जनाको केश समाधान गरी कुल २ करोड ८९ लाख १७ हजार २ सय रुपैया फिर्ता गराउन सफल भएको कार्यक्रममा सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए । सोही कार्यक्रममा वैदेशिक रोजगारको सिलसिलामा आठ वर्षयता १ सय २९ जनाले ज्यान गुमाएको उनले मन्त्री मन्सुरलाई जानकारी गराए । कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका योगेन्द्र सदाले एजेन्टले वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ६ जनाबाट ११ लाख रुपैयाँ लिएको तर हालसम्म नत विदेश उडाएको नत रकम नै फिर्ता दिएको मन्त्री समक्ष दुःखेसो सुनाए ।
जिल्ला परियोजना समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कट्वाल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सामी हेल्भेटास नेपालका टिम लिडर सिता घिमिरे, सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्ष समेत रहेका गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका निर्देशक दिपक कुमार झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादव, सामी परियोजनाका जिल्ला संयोजक देवनारायण चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो । 