• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

युक्ति मरिकलाई वैद्य–प्रकाश मानवअधिकार पुरस्कार

युक्ति मरिकलाई वैद्य–प्रकाश मानवअधिकार पुरस्कार

राजविराज, १६ साउन । मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुरयाएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक डोम सोमवार वैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मानित भएका छन् ।

बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषले राजविराजमा सोमवार २५औं प्रकाश स्मृति दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी डोमलाई सो पुरस्कारबाट सम्मानित गरेको हो । डोम जातीको मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याए वापत उनलार्ई पुरस्कार स्वरुप तीन हजार एक सय पाँच रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिएको छ । डोमलाई कार्यक्रमका प्रमुख अतिथी इन्सेक पुर्वाञ्चल संयोजक सोमराज थापाले कदर–पत्र, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दोसल्ला र कोषका अध्यक्ष बैद्यनाथ झाले नगद पुरस्कार प्रदान गरे ।

दलितमा पनि अति पछाडि परेको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित स्नातक उत्तिर्ण डोमले दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातिय छुवाछुत र घर उठिवास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरुमा डोम समुदायको प्रवेश खुल्ला गराउन महत्पूर्ण भूमिका निर्वाह गरेका छन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज ७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट २०७३ सालमा पहिलोपटक सप्तरीको मधुपट्टी ६ निवासी दलित आन्दोलनका अगुवा बलदेव राम सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथि इन्सेकका पूर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाले सबैखाले विभेद कानुनविपरित, अनैतिक र दण्डनीय भएकाले मानवअधिकारको आवाजलाई बलियो बनाउन जरुरी रहेको बताए ।

कोषका अध्यक्ष बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटवाल, प्रहरी उपरिक्षक मुकेशकुमार सिंह, राजविराज लायन्स क्लबका अध्यक्ष शंकर शारदा, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरी भट्टराई, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष रामनरेश सिंह, पत्रकार अनिलकुमार अनल लगायतले विभेदको अन्त्य गर्न मानवअधिकार अभियानलाई निरन्तर जारी राख्नुपर्नेमा जोड दिए ।

इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलद्वारा सञ्चालित तथा कोषका सदस्य माला कर्णद्वारा स्वागत गरिएको कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । थाइ एयरबसको विमान ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा दुर्घटना हुँदा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा मानवअधिकार तथा नागरिक आन्दोलनमा सक्रिय व्यक्तिलाई पुरस्कृत गरिने कोषले जनाएको छ ।