राजविराज, १६ साउन । समुदायको सहभागिता मार्फत जलश्रोत कुटनीति निर्माण सन्दर्भमा प्रो पब्लिक –जनहित संरक्षण मञ्चद्वारा सोमवार राजविराजमा सरोकारवालाहरुसँग छलफल कार्यक्रमको आयोजना गरियो ।
स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालको प्रमुख आतिथ्यमा उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो । क्रेस नेपालको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी अध्यक्ष वरिष्ठ अधिवक्ता मणि शर्माले सप्तरी जिल्लामा खाँडो सुन्दरी खोलालगायतका नदीहरुका कारण तिलाठी, सकरपुरा, राम्पुरामल्हनिया सहितका बस्तीहरु वर्षेनी डुबानमा पर्ने गरेकोले यसको स्थायी समाधानकालागि दुई देश बीचको आपसी छलफलमा समस्या समाधान हुनुपर्नेमा जोड दिए ।
कुनौलीमा बाँध निर्माणका क्रममा भएको घटना सम्झिंदै उनले कतिपय विषयहरु स्थानीयस्तरमै दुई पक्षबीचको समझदारीमा समाधान हुनसक्ने भएकोले ग्राम शिविरहरु आयोजना हुनुपर्ने बताए । नेपालको उब्जाउ र आवादी जग्गा डुबानमा परेको र सो वापत सर्वसाधारण जनताले क्षतिपूर्ती प्राप्त गर्न नसकेको चर्चा गर्दै वरिष्ठ अधिवक्ता शर्माले भने ‘कोशी परियोजनाबाट सिंचाई जल परिवहन र जल विद्युत जस्ता लाभहरु समेत जनताले प्राप्त गर्न सकेको छैन ।’
दुई बीचको सम्वन्धलाई समेत कायम राख्दै विगतमा देखिएका त्रुटी तथा असमझदारीलाई एक आपसमा छलफल गरेर समाधान हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, मानव अधिकारकर्मी आभासेतु सिंह, तिलाठी गाउँ विकास समितिका पूर्व अध्यक्ष दिनेश्वर मिश्र, युवा नेता निरज मुक्तिलगायतले सप्तरी जिल्लामा वर्षेनी डुबान, कटान तथा मुआब्जाको विषयमा आ–आफ्ना विचार व्यक्त गरे । कार्यक्रम सञ्चालन क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले गरे ।