• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकार साहकी आमा फुलेश्वरी देवीको अन्त्येष्टि, सर्वसाधारणदेखि पूर्व मन्त्रीसम्म सहभागी 

पत्रकार साहकी आमा फुलेश्वरी देवीको अन्त्येष्टि, सर्वसाधारणदेखि पूर्व मन्त्रीसम्म सहभागी 

राजविराज, ११ साउन । सप्तरीका पत्रकार एवम् सञ्चार उद्यमी शिवनारायण साह (हलुवाई)‘सुरज’लाई मातृशोक परेको छ ।

पत्रकार साहकी आमा फुलेश्वरी देवी साहको बुधवार विहान करिब ५ बजेको समयमा ९० वर्षको उमेरमा निधन भएको हो । मधुमेह तथा स्वासप्रश्वास समस्याबाट पीडित रहँदैआएकी साहको साबिक राजविराज नगरपालिका वडा नम्वर–१ हटिया स्थित आफ्नै घरमा निधन भएको छ । साबिक भगवतपुर घर भएकी फुलेश्वरी देवी लामो समयदेखि पुस्तक तथा स्टेश्नरी  व्यवसाय गरी राजविराजको व्यवसाय विकासका साथै विभिन्न धार्मिक एवम् सामाजिक गतिविधिमा सक्रिय रहँदैआएकी थिईन् । दयालु एवम् मिलनसार स्वभावकी उनका एक मात्र छोरा शिवनारायण तथा सात छोरीहरु रहेका छन् ।

सप्तकोशी नदी किनारमा बुधवारै हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । मृतक फुलेश्वरी देवीलाई नेपाल पत्रकार महासंघका प्रदेश पार्षद समेत रहेका साहले मुखाग्नी दिएका छन् । अन्त्येष्टि कार्यक्रममा पूर्व सिंचाई मन्त्री समेत रहेका सांसद उमेश कुमार यादव, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, श्रृजना फाइनान्सका प्रबन्धक प्रभाकर देवकोटा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादव, सूचना दिग्दर्शन साप्ताहिकका सम्पादक महेश्वर भारती, नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रमेश यादव, नेपाल सफ्टेक कलेज अफ कम्प्युटर इन्जिनियरिङ्ग कलेका प्रमुख प्रमोद कुमार यादव, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अधिकृत नरेन्द्र श्रेष्ठ, शिक्षक शैलेश कर्ण, नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघका पूर्व अध्यक्ष भोलानाथ चौधरी, सकिल अन्सारी, हलुवाई समाज नेपालका केन्द्रीय कोषाध्यक्ष शत्रुध्न प्रसाद साह, व्यवसायी प्रभात कुमार ललन, समाजका महेश प्रसाद साह, व्यवसायी एवम् कलाकर्मी रामकुमार सिंह, यातायात व्यवसायी वसन्त कुमार साह, व्यवसायी कैलाश साहलगायत विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।पत्रकार साह विगत दुई दशकदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदैआएका छन् ।

कम्प्याक्ट कम्युनिकेशन प्रा.लि. अध्यक्ष समेत रहेका उनले सप्तरी सदरमुकाम राजविराजबाट न्यूज टुडे दैनिक, सत्यापन साप्ताहिक र न्यूज टुडे डट्कम डटएनपी अनलाइन सञ्चालन गर्दैआएका छन् । हलुवाई समाज नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका उनी नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ सप्तरीका अध्यक्ष समेत हुन् । पत्रकार साह मधेशको पक्षमा सशक्त रुपमा आवाज बुलन्द गर्दैआएका छन् ।यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले बुधवारै एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् । शोकको घडिमा सिङ्गो नेपाल पत्रकार महासंघ शोकाकुल परिवारको साथमा रहेको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

यसैगरी मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले समेत संघका सल्लाहकार साहको आमाको निधनको खबरले आफुहरु मर्माहित भएको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भनी कामना गरेका छन् ।