राजविराज, ६ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिका– ६ स्थित खुदीबखारीमा शुक्रबार बिहान खेतमा पानी पटाउने बिषयमा कुटाकुट हुँदा अठार जना घाइते भएका छन् ।
स्थानीय नहरको पानी खेतमा लगाउने बिषयलाई लिएर दुई पक्षबिच वादविवाद भई कुटाकुट भएको थियो । कुटपिटबाट घाइतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइतेहरुमध्ये गम्भीर अवस्थामा श्रीकुमार मण्डल र राजाराम मण्डलको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
दुई पक्षबिच भएको दोहरो कुटाकुटमा सोही ठाउँका ५५ वर्षिय रामलखन मण्डल ,संतोष कुमार मण्डल ,३५ वर्षिय देव कुमार मण्डल, नारायण मण्डल, देवेन्द्र मण्डल, गोपी लाल मण्डल, अजित कुमार मण्डल सहित घाइते भएका छन् ।यसैगरी विपक्षीहरु ४४ वर्षिय विरेन्द्र साह, सन्तोष साह, सुरेन्द्र साह, अनिल साहसहितका व्यक्तिहरु घाइते भएका छन् । सोही क्रममा रामकिसुन साह, उजित साह र सुरेन्द्र साहको साथबाट खुकुरी समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।
