राजविराज, ५ साउन । जिल्ला प्रहरी कार्यालय सप्तरीमा सरुवा भएर आएका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जिल्लामा भएका विकृतीहरुलाई समाप्त गर्ने तथा सत्यको पक्षमा लाग्ने संकल्पका साथ छिन्नमस्ता भगवतीमा सपथ खाएर आएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा विहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सप्तरी जिल्लामा भ्रष्टाचारको जालो रहेको भन्दै त्यसलाई भत्काउनकालागि आफु प्रतिवद्ध रहने बताउँदै उनले भने ‘सप्तरीबाट घुस्याहा एसपीको रुपमा नाम कमाउन नपरोस्, म घुस लिने छैन, भ्रष्टाचारको जालोलाई तोड्ने प्रयास गर्नेछु । माता छिन्नमस्ताको भुमिमा आए लगत्तै छिन्नमस्ता गएर छिन्नमस्ता मातासँग एउटा मात्र कामना गरेर आएको बताउँदै उनले भने ‘हे माता सप्तरीवाट घुस्याहाको ट्याग लागेर नजानु परोस, मैले मातासँग कामना गरेको छु ।’
आफु सप्तरीमा रहुञ्जेल त्यस्ता गतिविधिको अन्त्यका लागि आफु प्राथमिकता साथ सुरक्षा योजना कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी संगठनलाई जनताको संगठन बनाउन आफुले काम सुरु गरिसकेको जानकारी बताउँदै उनले जिल्लाभरीका ईलाका र चौकीका ईन्चार्जलाई भेला गरी प्रहरीको दायित्व र जिम्मेवारीबारे निर्देशन दिएको बताए ।
सप्तरीमा कार्यरत एसपी अनुराग द्विवेदीलाई विभागले फिर्ता बोलाएपछि नयाँ एसपीको रुपमा सिंह सप्तरी आएका हुन् ।