राजविराज, १ साउन । नेपाल माहेश्वरी सङ्गठनद्वारा खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज नगरपालिकाको वडा नम्वर–१ र २ का सय परिवारलाई आइतवार राहत सामग्री वितरण गरिएको छ ।
राजविराज स्थित वि.पी. विचार समाजद्वारा आयोजित कार्यक्रममा उक्त वडाका मलेठ, डुमरी र राजदेवी टोलका बाढी पीडितलाई राहत वितरण गरिएको हो । बाढी पीडित परिवालाई चाउचाउ, पानी, त्रिपाल, लत्ताकपडा, बिस्कुट, साबुनलगायतका सामानहरु वितरण गरिएको छ । समाजका अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा माहेश्वरी समाजका केन्द्रीय सचिव गोबिन्दराम कावरा, समाज विराटनगरका अमिताभ माहेश्वरी, अखिल भारत माहेश्वरी युवा समाजका सदस्य विवेक राठी, होमेश कावरा, लायन्स क्लव लहान जोनका अध्यक्ष चक्रपाणी दाहाल, लहान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक अग्रवाल, लहानका विकास शारदालगायतले बाढी पीडितलाई राहत वितरण गरेका छन् । उक्त अवसरमा वि.पी. विचार समाजका पदाधिकारीहरु समेतको सहभागीता रहेको थियो । यसैगरी जिल्लाको सकरपुराका २० बाढी पीडितलाई समेत राहत वितरण गरिएको होमेश कावराले जानकारी दिएका छन् ।