• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट नदिनेमाथि कार्वाही हुन्छ’

‘सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट नदिनेमाथि कार्वाही हुन्छ’

राजविराज, २८ असार । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालले सार्वजनिक सवारी साधनहरुमा कम्तिमा दुई ओटा सीट सुरक्षित तथा भाडामा पचास प्रतिशत छुट सम्वन्धि व्यवस्था कार्यान्वयन नगर्नेलाई कार्वाही गर्ने बताएका छन् ।
महिला तथा वालवालिका कार्यालयको सहयोगमा ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । संविधानमा ज्येष्ठ नागरिकको कानूनी व्यवस्था र वर्तमान अवस्था विषयक सरोकारवालाहरु बीचको अन्तरक्रियात्मक गोष्ठिमा बोल्दै उनले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधान दिने सम्वन्धी कार्यविधि २०७० ले निर्दिष्ट गरेको सुविधा ज्येष्ठ नागरिकले पाउनुपर्नेमा जोड दिँदै प्रमुख जिल्ला अधिकारी कटवालले भने ‘सार्वजनिक सवारी साधनहरुमा कम्तिमा दुई ओटा सीट सुरक्षित तथा भाडामा पचास प्रतिशत छुट सम्वन्धि व्यवस्था कार्यान्वयन नगर्नेलाई कार्वाही हुन्छ ।’
ज्येष्ठ नागरिकलाई सुविधा प्रदान गर्दा पहिला आउनेलाई पहिलो प्राथमिकता दिने व्यवस्था सम्बन्धित सवारी साधन सञ्चालकले मिलाउनुपर्नेमा उनले जोड दिए । छुट र सुविधाकालागि सम्बन्धि ज्येष्ठ नागरिक यात्रुको उमेर खुलेको, नेपाली नागरिकताको प्रमाण पत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र वा अन्य परिचयपत्रलाई आधार मानेर ज्येष्ठ नागरिकलाई छुट दिनुपर्ने प्रमुख जिल्ला अधिकारी कटवालले बताए ।
जिल्ला समन्वय समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले ज्येष्ठ नागरिक समाजकै अभिन्न अंग भएको भन्दै नेपाल सरकारले तोकेको सेवा सुविधा पाउनुपर्ने आवश्यकता औल्याए । ज्येष्ठ नागरिकले सुविधा पाए, नपाएको विषयमा सम्बन्धित सबै पक्षले चासो राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेल, महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, कृष्णासवरण गाउँपालिकाका कार्यकारी अधिकृत राजिव कुमार झालगायतले मन्तव्य व्यक्त गरे । ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिने सम्बन्धि कार्यविधी २०७०, ज्येष्ठ नागरिकको संरक्षण र समाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६३ तथा ज्येष्ठ नागरिक सम्बन्धि नियमावली २०६५ बारे जानकारी गराएका थिए । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनीधि समेतको सहभागिता रहेको थियो ।