• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छानविन आयोगद्वारा देव हत्या प्रकरणको स्थलगत अनुगमनः शहीद घोषणा गर्न पीडित परिवारको माग

छानविन आयोगद्वारा देव हत्या प्रकरणको स्थलगत अनुगमनः शहीद घोषणा गर्न पीडित परिवारको माग

राजविराज, २५ असार । तराई–मधेश आन्दोलनका बेला भएको घटनाको सत्यतथ्य छानबिन सम्वन्धि उच्चस्तरीय जाँचबुझ आयोग–२०७३ को टोलीले २१ महिना अघि भएको सप्तरीका जितेन्द्र नारायण देव हत्याकाण्डबारे स्थलगत जानकारी लिएका छन् ।
२०७२ असोज ३० गते शनिवारका दिन राजविराज नगरपालिका–६ हाल वडा नम्वर–७ निवासी ३० वर्षीय युवा जितेन्द्र नारायण देवलाई बेपत्ता पारी चरम यातना दिई पाश्विक हत्या गरिएको थियो । उनको शव २०७२ कार्तिक ३ गते दिन रक्ताम्य र विक्षिप्त अवस्थामा सप्तरीको बरही–विरपुर स्थित कोशी नहरमा स–शस्त्र प्रहरीको बेस क्याम्प नजिक फेला परेको थियो । उनको दुवै कान काटिएको, बायाँ टाउकोदेखि गालासम्म गम्भीर चोट भएको, रिढ भाँच्चिएको, शरिरभरि गम्भीर चोट–पटक भएको अवस्था थियो ।
उनी मधेश आन्दोलन अन्तर्गत भएको बृहत मानव साङ्गलो लगायत अन्य कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदैआएका थिए । फेसबुक कालो झण्डायुक्त प्रोफाइल राखी सामाजिक सञ्जाल मार्फत लेख्ने गरेका थिए । तराई– मधेश थरुहट क्षेत्रमा भएको आन्दोलनमा भएको हत्या, हिंसा, तोडफोड, आगजनी लगायतका घटना–दुर्घटना सम्बन्धि छानबिनकालागि सरकारले सर्वोच्च अदालतका पुर्व बरिष्ठतम् न्यायाधीश गिरिश चन्द्र लालको नेतृत्वमा गठित समितिका सदस्यहरु समेतको टोलीले शुक्रबार जितेन्द्र नारायण देवको शव फेला परेको स्थान स–शस्त्र प्रहरीको बेस क्याम्प नजिक बरही–विरपुर स्थित कोशी नहरको स्थलगत अनुगमनका क्रममा स्थानीय जनसमुदायसँग घटनाको यथार्थ जानकारी लिनुका साथै घटनाबारे जाँचबुझ गरेका छन् ।
घटनास्थल अनुगमन गरे लगतै आयोगको टोली मृतक जितेन्द्र नारायण देवको राजविराज स्थित घर पुगी शोकाकुल आमा–बुवालाई भेटेर शोक र सहानभुती प्रकट गर्दै घटनाबारे वास्तविक जानकारी लिएका छन् । पीडित आमा–बुबाले आयोग समक्ष आफ्ना छोरालाई चरम यातना दिई निर्मम्तापुर्वक हत्या गरिएकोले दोषीलाई कडा कारबाही हुनुपर्ने, मृतक देवलाई शहीद घोषणा गर्नु पर्ने, साथै पिडित परिवारलाई क्षेतिपुर्ति उपलब्ध गराउनु पर्ने मागबारे ध्यानाकर्षण गराएका छन् । आयोगले उचित निर्णय लिएर पीडित परिवारलाई न्याय दिलाउन सिफारिस गर्ने प्रतिविद्धता अध्यक्ष गिरिशचन्द्र लालले प्रतिवद्धता व्यक्त गरे ।