राजविराज, २४ असार । सप्तरी जिल्लामा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने माग राख्दै शनिवारदेखि वाल क्लवका वालवालिकाहरु रिले अनशनमा बसेका छन् ।
राजविराज स्थित गजेन्द्र चौक परिसरमा लाली गुराँस वाल क्लवको अगुवाईमा रिले अनशन थालिएको हो । पाठयपुस्तक समयमै उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरी मुल्य नियन्त्रण गर्नुपर्ने, बन्द हडतालवाट विद्यालयलाई अलग गरेर राख्नु पर्ने, रजिष्ट्रेशन र परीक्षा शुल्क निःशुल्क गरिनु पर्ने, मदरसाहरुलाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने लगायतका १४ वुँदे माग राख्दै उनीहरु रिले अनसनमा बसेको क्लवका अध्यक्ष मो. जकाउल्ला अन्सारीले जानकारी दिएका छन् ।
वालवालिकाहरुले थालेको रिले अनशनमा वाल क्लवका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । शैक्षिक क्षेत्रका समस्या समाधान गर्न यस अघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि वास्ता नगरेकोले बाध्य भएर आफुहरु रिले अनसन बसेको अन्सारीले बताए ।
वालक्लवद्वारा थालिएको रिले अनसनप्रति नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक संजालका अध्यक्ष सुखराम यादव, सेभ द नेपालका कार्यकारी निर्देशक अजित ठाकुर, नेविसंघका पुर्व सह–महामन्त्री ईर्साद अन्सारी लगायतले ऐक्यवद्धता जनाएका छन् । शिक्षा कार्यालयका शाखा अधिकृत दिपकुमार यादव र परीक्षा फाँटका प्रमुख विरेन्द्र चौधरीले अनशनकारीहरुलाई भेटेर अनशन तोडन आग्रह गरेका छन् ।