राजविराज, २२ असार । सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली नदीमा भत्किएको बाँध निर्माणकालागि संयुक्त सुरक्षा फौजको टोली पुगेर विहीवारदेखि काम थालेको छ ।
बाढी पीडितहरुको पीडालाई गम्भीरतापूर्वक लिँदै राजविराज स्थित कृष्ण दल गणबाट ७० जनाको नेपाली सेनाको टोली आवश्यक बन्दोवस्तीका सामानसहित बुधवार बेलुकी कटान स्थल पुगेको हो । उक्त टोलीले बोरा भरेर कटान भएको ठाउँमा भर्ने काम थालेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालले जानकारी दिएका छन् ।
महुली नदीमा आएको बाढीले केही मिटरको फरकमा विभिन्न पाँच स्थानमा भत्किएर छेउमै रहेको तिरहुत गाउँपालिकाको–५ स्थितको भेडिया बस्ती पूर्ण रुपमा डुबानमा परेको थियो । सोही बाढीले साबिक मैनाकडेरी–५, ६, ९ र लोहजरा–८ स्थितको बस्तीमा पानी पसेर घरमा रहेको खाद्यान्न सामग्री, लत्ताकपडासमेत बगाएको थियो भने केही घरहरु कटानमा समेत परेको थियो ।
नेपाली सेनाको टोलीले बाढी रोकथाम गर्न भत्किएको स्थानहरुमा बोरा लगाउनुका साथै निर्माण काम थालिएकोमा बाढीपीडितहरुले खुशी व्यक्त गरेका छन् । सम्वन्धित सरोकारवाला निकायले तत्काल ध्यान नदिएको अवस्थामा नेपाली सेनासहित संयुक्त सुरक्षा फौजको टोलीले थालेको काम आफुहरुकालागि ठूलो सहयोग भएको नेपाली सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त टोलीले बाँध पुर्ननिमाण कार्यमा जुटेको स्थानीय आनन्दी मुखियाले बताएका छन् ।
तत्काल बाँधमा बोरा भर्ने कामले केही हदसम्म पानीको वहाव रोक्न सकिने भएपनि दिर्घकालिन समाधानकालागि जल उत्पन्न प्रकोप नियन्त्रण, सिंचाई कार्यालयलगायतका निकायले पुनः बाँध नफुट्ने गरी ठोस निकास खोज्नु आवश्यक रहेको उनले बताए । पानी पर्ने क्रम रोकिएका कारण विस्थापित भएका बाढीपीडितहरु घर फर्किन थालेको बताउँदै उनले भने ‘यस क्षेत्रका केही परिवारको घरहरु कटानमा समेत परेकोले त्रिपाललगायत खाद्यान्न सामग्री आवश्यक छ ।’
यता प्रमुख जिल्ला अधिकारी कटवालका अनुसार महुलीमा नेपाली सेना ७० जना, सशस्त्र प्रहरी ५१ जना र नेपाल प्रहरीको २० जनाको संयुक्त टोली तथा हनुमाननगर कंकालिनी योगिनाईमाई नगरपालिकाको पोर्ताहामा समेत नेपाली सेना र सशस्त्र प्रहरीको ५०÷५० जना र नेपाल प्रहरीको २० जनाको टोलीले भत्किएको बाँध निर्माण काम गरिरहेका छन् ।
बाढीपीडितहरुका जनजीवन विस्तारै सहजोन्मुख भईरहेको जानकारी दिँदै उनले भने ‘अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था छैन, बाढीपीडितहरुको आवश्यकता अनुसार तत्कालै बाँध रोकथाम, राहत तथा स्वास्थ्यकर्मीको टोली समेत परिचालित भईसकेको छ ।’ सम्भावित आपतकालिन अवस्थालाई मध्यनजर गर्दै जिल्ला स्थित सम्पूर्ण निकाय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी कटवालले जानकारी दिएका छन् ।