राजविराज, २० असार । विगत दुई दिनयता रोकिएको वर्षा मङ्गलवारदेखि फेरी शुरु भए पछि डुबानमा परेका बस्तीहरुमा फेरी बाढी पस्ने खतरा बढेको छ ।
बस्तीमा पसेको पानी विस्तारै कम हुँदै गएको अवस्थामा दिउँसो करिब तीन बजेदेखि वर्षा शुरु भएको हो । मुसलधारे वर्षाका कारण सप्तरी जिल्लाको खाँडो, महुली, जिता, सुन्दरी, बिहुल र खडक नदीहरुमा पानीको स्तर बढ्दैगएको छ । खाँडो नदी नियन्त्रण कार्यालय राजविराजका अनुसार वर्षाले गर्दा नदीहरुमा जलस्तर बढ्दैगएको छ । वर्षा नरोकिए बस्तीहरुमा पुनः पानी पसेर डुबान हुने खतरा बढेको छ ।पुनः पानी पर्न थालेपछि बाढी प्रभावित क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् ।
गत शनिवार विहान २ बजेदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको नदीहरुमा आएको बाढीबाट जिल्लाको एक हजार पाँच सय घर डुबानमा परेको थियो । तिलाठी, सकरपुरा, मल्हनिया, मैनाकडेरी, वसविट्टि, पौंवा, मुसहरनिया पिपराही, रायपुर, पोर्ताहा, रुपनी, पकरी, रम्पुरा, राजविराज नगरपालिकाको वडा नम्वर–१ र २ स्थित वस्तीमा बाढीको पानी पसेको थियो । बाढीबाट तिलाठीको बस्तीमा करिब ४ फिटसम्म पानी पस्दा जनजिवन कष्टकर बन्न पुगेको छ ।
खाना पकाउने चुलो तथा पानी खानकालागि प्रयोग गरिने ट्युवेल समेत पानीमा डुबेका कारण खानेपानीको समेत समस्या भएको थियो । सामान्यतर्फ उन्मुख हुँदै गएको बाढीपीडितहरुको जनजिवन थप कष्टकर बन्न पुगेको छ ।लौनियाँ स्थितको बाँधमा कटान शुरु भईसकेकोले बाँध भत्किने त्रासले स्थानीयवासिन्दाहरु सुरक्षित गन्तव्यतर्फ सरसामान सार्न थालिसकेको स्थानीय श्रीराम मण्डलले जानकारी दिएका छन् । करिब सय मिटरको दुरीमा दुई स्थानमा बाँधमा जाली र बोराको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।यता विभिन्न स्थानमा क्षतिग्रस्त तथा मरम्मत सम्भार आवश्यक रहेको स्थानमा रोकथामको प्रयास भईरहेको खाँडो नदी नियन्त्रण कार्यालय राजविराजले जनाएको छ ।