राजविराज, १९ असार । राजविराज नगरपालिका अन्तर्गतका वस्तीहरु डुबानमा पर्ने कुरा नगरवासीले कल्पनासम्म गरेको थिएन । तर कहिल्यै पनि कल्पना नगरेको नियती भोग्न बाध्य राजविराज नगरपालिकाको वडा नम्वर–१, ९ र १० र रुपनी–२ का वासिन्दाले । शनिवार विहानको पहिलो वर्षामै खाँडो नदीको पानी बस्तीमा पसेर एकैछिनमा डुबानमा परे । यतिमात्र होइन, बसबिट्टी, मुसहर्निया, पौंवा लगायतका वस्तीहरुमा नदीको पानी पसेर हैरान पारे । हज्जारौं विघा खेत समेत जलमग्न भए ।
अचानक बस्तीमा नदी पानी पस्दा मलेठका मो. यासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा पानीसँगै बगेर गयो । खाद्यान्न, लत्ताकपडा समेत पानीमा डुबानमा परेको पीडितले बताएका छन् । बाढीको पानीले मलेठ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र समेत जलमग्न हुनुका साथै पर्खाल समेत भत्काएको छ । खाँडो खोलाको बाढीले त्यसक्षेत्रका वासिन्दालाई पीडा दिएर गए ।
यासिन जस्तै सयौं परिवारलाई बाढीले यस्तै पीडा दिएको छ ।खाँडो खोलाको बाढी बस्तीमा पस्नुका कथा–व्यथा अर्कै छ । गत वर्ष सिंचाई कार्यालयको टेण्डर नलागेपछि अन्तिम समयमा उक्त कार्यालयले बस्ती तथा खेत जोगाउन उपभोक्ता समितिमार्फत हतार–हतारमा काम गर्न लगाए । कुल एक करोड ८२ लाख रुपैयाँका लागतमा रुपनीको मुख्य बजारदेखि पूर्व खाँडो पुलदेखि दक्षिण एक किलोमिटर मात्र बाँध निर्माण भयो । विभिन्न पाँच ओटा उपभोक्ता समिति गठन गरी असार ९ गतेदेखि काम शुरु गरी हतार–हतारमा काम शुरु गरेको उपभोक्ता समितिका अध्यक्ष हरेराम यादवले जानकारी दिए । असार अन्तिमसम्म काम गर्ने क्रममै वर्षा शुरु भएको र बजेट पनि सिद्धिएकोले काम अधुरै रहन पुगेको उनले स्वीकार गरे ।
बस्ती तथा धान खेत कटान हुन नदिन करिब दुई किलोमिटर काम गर्नुपर्नेमा अधुरै रहन गएकोले नदीमा आएको बाढीको वहाव खेत हुँदै बस्तीहरुमा पसेको उनले बताए । आफुहरुले बजेटले भ्याएसम्म राम्र्रै काम गरेको तर सिंचाई कार्यालयले थप काम यो वर्ष गर्नुपर्नेमा हालसम्म नगरेकोले यस्तो विपत्तीको अवस्था श्रृजना भएको उपभोक्ता समितिका अध्यक्ष यादवको ठम्याई छ । बाँध निर्माणका क्रममा ल्याईएका ह्युमपाइपहरु समेत अलपत्र अवस्थामा फालिएको जानकारी दिँदै उनले सम्वन्धित कार्यालयमा व्यापक दौडधुप गर्दा पनि यो वर्ष बजेट नदिई कामसम्म नगराएका कारण बाढीले व्यापक क्षति गरेको बताए ।
उक्त बाँधको विषयमा स्थानीयवासिन्दाको फरक प्रतिक्रिया र आक्रोश छ । गत वर्ष निर्माण गरिएको बाँध पुरै अव्यवहारिक र अवैज्ञानिक रहेको रुपनी गाउँपालिका–१ रायपुरका लछु चौधरीले बताए । ‘नदीको पानीलाई खेततर्फ बग्न दिनबाट रोक्नकालागि उत्तरतिरबाट बाँध निर्माण गर्नुपर्नेमा दक्षिणतर्फबाट निर्माण गरियो’ उनले भने ‘हामीले उपभोक्ता समिति र इन्जिनियरलाई पटक–पटक आग्रह गर्दा खाँडो पुलदेखि भत्किएको ठाउँसम्म निर्माण गर्ने आश्वासन दियो तर परिणाम ठिक विपरित भयो ।’गत वर्षको गल्ती दोहोरिन नदिन अधुरा कामलाई पुरा गर्नुपर्नेमा त्यसो नगरी यसवर्ष सिंचाई डिभिजन कार्यालयले बेवास्ता गरेको अर्का स्थानीयवासिन्दा उमेश चौधरीले बताए ।
मनसुनको पहिलो वर्षामै बाढीले बस्ती तथा खेत डुबानमा परेको बताउँदै उनले भने ‘बाँकी रहेका अधुरा निर्माण कार्य नगरिए ठूलो क्षति हुने खतरा उत्तिकै छ ।’ यस्तै लौनियाँ, मैनाकडेरी, वसविट्टि, तिलाठी, रम्पुरा, मल्हनियाँ लगायतका गाउँ डुवानमा परेको छ । यस्तै महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा–४, ६, ७, र ८ का करिब तीन सय भन्दा बढी घर डुबानमा परेको थियो । यस्तै लोहजरा–९ स्थितको बस्तीमा खोलाको पानी पसेर जनजिवन अस्तव्यस्त बनायो ।
बाढीले गर्दा जिल्लाको विभिन्न स्थानहरु समेत गरी १ हजार पाँच सय घर डुबानमा परेको थियो । बाढीवाट जोगाउन ठाउँ–ठाउँमा पाइलट च्यानल खन्ने तथा बाँध बनाउने कार्य समेत रकम हजम गर्ने नियत गरिएको पाईएको छ । नदीहरुमा निर्माण गरिएका बालुवाका बाँधहरुमा माटोसहितका चेकी राख्नुपर्नेमा त्यसो नगरी त्यसै छाडिएका कारण सामान्य बाढीले गर्दा उक्त बाँध कटानमा परेको तथा केही स्थानमा बाँध नै बगाएको छ । जसले गर्दा बस्ती तथा खेतमा बाढीको पानी पसेर जनजिवन अस्तव्यस्त पारेको छ ।
सिंचाई कार्यालय मार्फत भएका कामहरुको उच्चस्तरीय अनुगमन गरी दोषीलाई कडा कार्वाही हुनुपर्ने समासेवी ध्रुव देवले बताए । सप्तरी जिल्लामा यस्तो विघ्न आउनुमा सम्वन्धित कार्यालय र प्राविधिक पूर्ण रुपमा दोषी रहेको बताउँदै उनले भने ‘पहिलो वर्षामै डुबान र कटानको समस्या भयो, त्यसैले सम्भावित ठूलो खतराबाट जोगिन सम्वन्धित निकायले तत्काल बाँध निर्माण तथा रोकथाम गर्नु जरुरी छ । डुबान र कटानको समस्यामा परेका परिवारलाई अविलम्व क्षतिपूर्ती उपलब्ध गराउन तथा राजविराज नगरपालिका लगायतका बस्तीहरु जोगाउन राजविराजका सम्भावित उम्मेदवार समेत रहेका देवले सरकारसँग आग्रह गरेका छन् ।