राजविराज, १६ असार । इन्सेक सप्तरीद्वारा २०७३ पुस १७ देखि २०७४ असार १६ गतेसम्म संकलित घटनाहरुको पुस्तक प्रकाशन पूर्व समीक्षा गोष्ठि जिल्ला समन्वय समितिको वैठक कक्षमा सम्पन्न शुक्रवार सम्पन्न भएको छ ।
अध्यक्षता इन्सेक मानार्थ सदस्य एवं प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत देवराज पोखरेल, स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, एसपी अनुराग कुमार द्विवेदी, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, स्थानीय शान्ति समितिका संयोजक निरञ्जन झा, महिला बालबालिका कार्यालयकी चन्द्रकला राई, गैरसकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, उच्च अदालत राजविराज इजलाश बार एकाइकी सह–सचिव सविता कोइराला, नेपाली काँग्रेसकी नबिता चौधरी, संघीय समाजवादी फोरम नेपालकी सुनिता कुमारी साह, दलित उत्था मञ्चका बौवालाल शर्मा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, हुपेकका उपाध्यक्ष उमा पोखरेललगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रतिवेदन प्रस्तुत गरे ।
विस्तृत प्रतिवेदन
मानवअधिकार वर्षपुस्तकमानवअधिकार वर्षपुस्तकस्थिति सूचक
जनवरी–जुन २०१७, सप्तरीमानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक जिल्लामा मानवअधिकार सम्बन्धी गतिविधिहरुको तथ्यगत घटना संकलन, अभिलेखीकरण र प्रसारण कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, देशका विद्यमान कानुनहरुको पालना भएको नभएको लगायतका विषयमा चासो राख्ने इन्सेकले मानवअधिकारसँग सम्बन्धित रहेर कार्यहरु गर्दछ । इन्सेकले मानवअधिकारसँग सम्बन्धित घटनाहरुको संकलन र अनुगमन गर्दै विश्वमा नै उत्कृष्ट र तोकिएको समयमा फागुन ७ गते मानवअधिकार बर्ष पुस्तक प्रकाशित गर्दै आएको छ । सोही क्रममा प्रकाशन पूर्व वर्षको दुई पटक पूर्वसमीक्षा गरिने भएकोले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१८ को अद्र्धवार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम गर्न गइरहेका छौ । इन्सेक सप्तरीले २०१७ जनवरीदेखि जुनसम्म अर्थात ०७३ पुष १७ गतेदेखि असार १६ गतेसम्म जिल्लामा भएका ६ महिनाका मानवअधिकार हनन्, उल्लंघन तथा ज्यादतीका घटनाहरुलाई सत्यतथ्य परक तथा पूर्णता र आधिकारिकता दिने उद्देश्यले पूर्व समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।यस अवधिमा सुरक्षाकर्मीको गोलीले पाँचजनाको हत्या, चारजना घाइते, काकीबाट एक बालकको हत्या, छ बालिकाको बलात्कार, दुई बालिकाको बलात्कार प्रयासका साथै महिला बलात्कारका ३, बलात्कार प्रयासका ६, घरेलु हिंसाका ३४, बहुविवाहका ३, कथित बोक्सीको आरोपका १, जातिय छुवाछुतको १, बम विष्फोटको २ गरी ९० ओटा घटना देखिए । बालिका बलात्कारको ५ घटनामा छ जना पीडित भए । आरोपितमध्ये पुपक्र्षका लागि एक थुनामा, २ धरौटीमा, ४ फरार र पीडित होस्टाइल भएपछि १ ले सफाई पाए । बलात्कार प्रयासका २ घटनामा १ आरोपित थुनामा र १ जना फरार छन् । बालक्लबको प्रयासमा १ बालविवाह रोकियो भने जिल्ला बाल क्लब सञ्जालकै एक सदस्यले विवाह गरे । बमनगामा कट्टी गाविस–६ स्थित ल.ब.न. माविमा कक्षा नौ मा अध्ययनरत १५ वर्षीय संजय ठाकुर र साकेत सिंहलाई फागुन ९ गते सोही बिद्यालयको कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले देब्रे हात भाँचिदिए । महिला बलात्कारको ३ घटनामा सुस्त मनस्थितीकी १९ वर्षीयादेखि ४० वर्षीयासम्म पीडित भए । आरोपितमध्ये १ थुनामा, १ गिरफ्तार र ४ जना फरार छन् । बलात्कार प्रयासका ६ घटनामा १९ देखि ३५ वर्षकी महिलासम्म पीडित भइन् । आरोपितमध्ये १ थुनामा, १ धरौटीमा, २ पक्राउ, १ फरार छन् भने एउटा घटनामा संस्थाले कारवाही गरेको छ । बहुविवाहको ३ घटनामा १ थुनामा, ३ धरौटीमा रिहा भए भने १ उजुरी दर्ता बाहेक कारवाही प्रकृया अगाडि बढेको छैन् । कथित बोक्सी आरोपको १ घटनामा ३ जना फरार छन् भने गर्भपतनको १ मुद्दामा ६ आरोपित धरौटीमा रिहा भएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राजपाको आन्दोलनका कारण यस अवधिमा संरचना, भौतिक सम्पति क्षति भए भने अभिव्यक्ति, भेला हुने र संगठित हुने अधिकारमा अवरोध पुग्यो । राष्ट्रिय मानवअधिकार आयोगको बा.७ च ७४७३ र ७४७९ नम्बरको गाडी, संसद रन्जु झा चढेको बा.१ झ ८४८९ नम्बरको गाडीमा तोडफोड भयो । राजविराज ९ स्थित लिटिल फ्लावर सेकेण्ड्री स्कुल, प्रमुख निर्वाचन आयुक्तको घर, सांसद सम्पर्क कार्यालय, एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुङ्गामुढा र क्रेस नेपाल कार्यालयको सूचना पाटीमा आगजनी भयो । स्थानीय शान्ति समितिको कार्यालय, औधोगिक क्षेत्र, ना.५ ख. ६७१३ नम्बरको बसमा आगजनी भयो । जिल्ला निर्वाचन कार्यालयको बोर्ड र एमाले पार्टी कार्यालयको झण्डामा आगजनी, भूमिसुधार कार्यालय, वन कार्यालयमा आगजनी प्रयास, जिल्ला शिक्षा कार्यालय, नेपाल टेलिकम, मिलन डेरी, राजविराज नगरपालिका कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय, भारदह गाविस–१ सशस्त्र प्रहरीको चेक पोस्ट तोडफोड, राबा बैंकमा पेट्रोल बम प्रहार, ना.५ ख १५१७ नम्बरको बस र ना.५ ख २०१९ नम्बरको बसमा ढुङ्गा प्रहारले सिसा फुट्यो । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा माघ २८ गते भइरहेको अधिवेशनको उद्घाटनको व्यानर, झण्डा च्यात्दै मोर्चाका कार्यकर्ताहरुले बिथोल्ने प्रयास गरे । साह धर्मशालामा आयोजित नेकपा (एमाले) को राजविराज नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरी राजपाका नेता, कार्यकर्ताहरुले जेठ २८ गते तोडफोड र आगजनी गर्दै कार्यक्रम विथोले । मलेठ गाविस–४ मा फागुन २३ गते इनरुवा नपा–४ का ४८ वर्षीय श्यामदेव मेहताको को. ९ प ५३८१ नम्बरको मोटरसाइकल, राजविराजस्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सब ईञ्जनियर दामोदर ढकालको स.४प ६०७२ नम्बरको स्कुटी, को.२प ४३४६ नम्बरको मोटरसाइकल, बा.५२प २५१० नम्बरको मोटरसाइकल, स.१प ५८४४ नम्बरको मोटरसाइकलमा आगजनीले पूर्ण नष्ट भयो भने स.६प ११९२ नम्बरको मोटरसाइकल तोडफोड भयो । ना.५ ख २३६९ नम्बरको बस, र सप्तकोशी एफ.एम. को बा.१२ च ९१६८ नम्बरको स्कारपियो गाडीमा तोडफोड भयो । बन्द अवज्ञा गरेको भन्दै राजपाका प्रदर्शनकारीहरुले जेठ ३० र ३१ गते ना.६ख २६२५ नम्बरको ट्रक, को. १ ख ३८०४ नम्बरको बस, ना.५ख ११७४ नम्बरको रात्री बसमा ढुङ्गा प्रहार गरे भने असार ४ गते डाकनेश्वरी नगरपालिका वडा नं. १ कार्यालयको स.१ व ५२९ नम्बरको मोटरसाईकल आगजनी गरी पूर्ण क्षति गरे ।हरीहरपुर गाविस–३ स्थित सुर्य इङ्गलिश बोर्डिङ्ग स्कुलमा अज्ञात समूहबाट फागुन २१ गते राति आगजनी भयो भने बिष्णुपुर गापा–१ स्थित जनता आधारभूत विद्यालय प्रसाहीको पर्खाल चैत १५ गते साँझ सोही ठाउँका जितेन्द्र यादव र धर्मेन्द्र यादवले तोडफोड गरी क्षति पु¥याएको भन्दै विद्यालयले उजुरी दियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले मेची महाकाली राष्ट्रिय अभियानका क्रममा फागुन ११ गते मानराजा ४ मा एमालेको वैठक पुस्तिका खोसे भने फागुन १२ गते बथनाहामा वैठक पुस्तिका च्याते । फागुन १९ गते राजविराजमा घरदैलो कार्यक्रममा निक्लिएको एमालेको जुलुसलाई कालो झण्डा र लाठीसहित निस्किएको मोर्चाका नेता–कार्यकर्ताहरुले रोके । एमाले सप्तरीका उपसचिवलाई फागुन २० गते मोसो दले । जिल्ला सचिव शम्भु यादवलाई राजनिति नगर्न वा एमाले परित्याग गर्न चेतावनी दिदै लुटपिट र दुव्र्यवहार गरे । एमालेको झण्डा बाँधेर फागुन २३ गते सभातर्फ गइरहेका एमाले सप्तरीका जिल्ला सदस्य मानराजा गाविसका देवचन्द्र झालाई मोर्चाका कार्यकर्ताहरुले फागुन २३ गते मोसो दलेर कमिज च्याति दिए । नकटी रायपुर गाविस–१ का ६१ वर्षीय लखन राम, राजविराज नपा–१० का पशुपति यादव, दिघवा ९ का ७५ वर्षीय बेचन सदा, सोमन सदा, चौठी सदा, सोनाइ सदा र दिघवा गाविस–७ का बेचु खंगलाई कुटपिट गरेर घाइते बनाए । राजविराज ६ का अधिवक्ता सुजित पोखरेललाई उनको ल फर्म अगाडि फागुन २४ गते मोसो दलेर दुव्र्यवहार गरे । नेकपा (एमाले) का समर्थकहरुलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान गर्दै मोर्चा सप्तरीको बैठकले फागुन २४ गते निर्णय गरी विज्ञप्तिमार्फत सार्वजनिक ग¥यो । राजविराज नपा–४ स्थित घरबाट नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याुकरेलकी पत्नी ५४ वर्षीया ज्योति प्याकुरेल र बुहारी ३० वर्षीया रक्तिम प्याकुरेल चैत १५ गते निक्लिरहेका बेला उनीहरु चढन लागेको बा.१०ज ५४३७ नम्बरको गाडी घेराउ गरी नाराबाजी गर्दै गालीगलौज गरे । प्याकुरेल परिवारलाई घरबाट उद्धार गरी प्रहरीले सकुशल बिराटनगरतर्फ पठायो । सुरुङ्का ५ कुशहामा चैत २६ गते आयोजित एमालेको महिला भेलालाई मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै अबरोध गर्ने प्रयास गरे । सप्तकोशी गापा–५ कमलपुरस्थित नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं प्रदेश नं. २ का संयोजक, सांसद सत्यनारायण मण्डलको घरमा चैत २७ गते मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा झुण्ड्याए । छिन्नमस्ता गापा–५ राप्रावि लोखरममा चैत २७ गते नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई मोर्चाका कार्यकर्ताहरुले बिथोले । महदेवा गापा–१ स्थित नरबहादुर थापा मा. वि. सोनराका प्रधानाध्यापकलाई असार ८ गते दुव्र्यवहार गरेको आरोपमा सोही ठाउँका ५२ वर्षीय हरीनारायण यादव, ३७ वर्षीया राखी यादव र ३० वर्षीया निशा यादवलाई गिरफ्तार गरी केही सार्वजनिक मुद्दामा कारवाही भइरहेको छ । विस्तृत विवरणनागरिक तथा राजनीतिक अधिकारसम्मानित रूपले बाँच्ने अधिकारहत्या÷घाइतेराज्यबाटअभिलेख नम्बर ः ०४५मलेठ गाविस–२ का २६ वर्षीय सन्जन मेहता, मलेठ गाविस–४ का ५० वर्षीय पिताम्बर मण्डल, प्रसवनी गाविस–४ का ४२ वर्षीय डिमन स्वास्थ्य चौकीका सिअहेव आनन्दकुमार साहको ०७३ फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीको आह्वानमा नेकपा (एमाले) को मेची महाकाली अभियान विथोल्न उत्रिएका प्रदर्शनकारीसँग बसविट्टी गाविस–५ मा भएको झडपमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर मृृत्यु भयोे । गोली लागेर घाइते भएका मलेठ गाविस–२ का ३८ वर्षीय बिरेन्द्र मेहताको फागुन २५ गते र जमुनी मधेपुरा गाविस–२ कोटबीका ५७ वर्षीय इन्द्र भनिने इनरदेव यादवको फागुन २७ गते उपचारका क्रममा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । लाशहरुको पोस्टमार्टम धरानस्थित प्रतिष्ठानमा फागुन २७ गते भयो । झडपमा मृत्यु भएकाहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले चैत ६ गते भवितव्य ज्यान मुद्दा दर्ता ग¥यो । मृतक परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने सरकारले घोषणा ग¥यो भने जिल्ला सुरक्षा समितिले फागुन २६ गते मृतकलाई सहिद घोषणा, मृतक परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था र घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि गृहमन्त्रालयमा लेखी पठाउने निर्णय ग¥यो । पीडित पक्षहरुले फागुन २७ गते लाशहरु बुझेर फागुन २८ गते दाहसंस्कार गरे । राजविराजस्थित सिडिओ निवासमा आयोजित कार्यक्रमका बीच गृहमन्त्री विमलेन्द्र निधीले मृतक परिवारलाई जेठ ३ गते क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँको चेक दिए । सोही घटनामा सुरक्षाकर्मीको गोली लागेर बरही विरपुर गाविस–२ हाटीका दिलिप यादव, राजविराज नपा–६ खर्साल टोलका १३ वर्षीय सुरेन्द्र साह, प्रसवनी गाविस–७ का जिल्ला बार इकाइका कोषाध्यक्ष एवं व्यापारी ४३ वर्षीय दिगम्बर यादव र गोलीको छर्रा लागेर रम्पुरा मल्हनिया गाविस–४ डलवाका अरुण कुमार यादव घाइते भए । घाइतेहरुको धरानस्थित प्रतिष्ठानमा उपचार भयो ।
अमानविय व्यवहारअभिलेख नम्बर ः ०९०बोदे बर्साइन नपा–६ साविक काचन गाविस–७ का ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी पत्नी ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला सोही ठाउँका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बार्सइन र असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । पीडित लिलाधरको कुमको हड्डी भाँचिएको छ भने उनकी पत्नी दुखनीलाई शरिरमा चोटपटक लागेको छ । घाइते लिलाधरको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भयो । पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ तल्लो जात (दलित) मन्दिरभित्र पस्न खोज्ने’ भनेर आरोपितहरुले कुटपिट गर्दै पुजाको समान समेत फालिदिएको पीडितले बताए । घाइतेहरुको असार १६ गते अञ्चल अस्पतालमा घाउँजाँच परिक्षण भयो ।
बालअधिकारहत्या÷हत्या प्रयासअभिलेख नम्बर ः ०१७पातो गाविस–५ का ३ वर्षीय रामअवतार खंग मण्डललाई ०७३ माघ २३ गते दिउँसो उनका काकी २५ वर्षीया उर्मिलादेवी खंग मण्डलले घाँटी थिचेर हत्या गरिन् । आरोपित माघ २३ गते गिरफ्तार भइन् । बालकका हजुरवुवा रामदेव खंग मण्डलले माघ २४ गते दिएको उजुरी सोही दिन जिल्ला प्रहरी कार्यालयले दर्ता ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित फागुन १२ गतेदेखि राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा छिन् ।
बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारअभिलेख नम्बर ः ००६१५ वर्षीया एक बालिकालाई ०७३ माघ ३ गते राति सुनसरी भुटाहा गाविस–३ का २२ वर्षीय अशोककुमार रामले कञ्चनरुप नपा–१ स्थित लखना रामको घरमा बलात्कार गरेको आरोप लगाउँदै पीडितकी आमाले माघ ३ गते इलाका प्रहरी कार्यालय, कञ्चनरुपमा उजुरी दिइन् । इलाका प्रहरी कार्यालयले आरोपितविरुद्ध माघ ३ गते जबरजस्ती करणी मुद्दा दर्ता गरी आरोपितलाई गिरफ्तार ग¥यो । जिल्ला अदालतको आदेशले आरोपित माघ २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । आरोपितले विवाह गर्ने प्रतिबद्धता गरेपछि पीडित होस्टाइल भएर बयान दिइन् । जिल्ला अदालतले आरोपितलाई बैशाख २१ गते अभियोग दाबीबाट सफाई दिने फैसला ग¥यो ।
अभिलेख नम्बर ः ००७१२ वर्षीया दुई बालिकालाई ०७३ माघ ५ गते राति तेरहौता गाविस–८ का २० वर्षीय सुरेशकुमार सरदार र सोही ठाउँका २० वर्षीय रमेशकुमार सरदारले बलात्कार गरेको आरोप लगाउँदै पीडितहरुका परिवारका सदस्यले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध माघ १० गते जबरजस्ती करणी मुद्दा दर्ता गरी आरोपितहरुमध्ये सुरेशलाई माघ १० गते गिरफ्तार ग¥यो । जिल्ला अदालतले आरोपितलाई फागुन ८ गते २५ हजार धरौटी लिई तारेखमा रिहा ग¥यो । जिल्ला सरकारी वकिल कार्यालयले आरोपितलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै चैत ७ गते उच्च अदालत जनकपुर राजविराज इजलाशमा निवेदन दियो ।
अभिलेख नम्बर ः ०६२चप्पल सिलाउन बजार आएकी आठ वर्षीया एक बालिकालाई विभिन्न प्रलोभन दिई ०७३ फागुन २१ गते साँझ राजविराज नपा–२ का ३३ वर्षीय जमन भनिने जामुन रामले राजविराज नपा–१ स्थित बजारबाट लगी बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितका बुवाले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । पीडित बालिका फागुन २२ गते विहान फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई चैत ११ गते गिरफ्तार गरी चैत १३ गते अपहरण तथा जबरजस्ती करणी उद्योग मुद्दा दर्ता ग¥यो । जिल्ला अदालतले आरोपित बैशाख ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितले बेरितको आदेश खारेज गर्न माग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलाशमा बैशाख १५ गते निवेदन दिए ।
अभिलेख नम्बर ः ०७०१२ वर्षीया एक बालिकालाई ०७४ बैशाख ११ गते अपरान्ह शम्भुनाथ नपा–२ बस्ने २४ वर्षीय संजय सदाले बलात्कार गरेको भन्दै पीडितकी आमाले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीले आरोपितविरुद्ध जेठ २ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेपनि फरार आरोपित हालसम्म फेला परेको छैन् ।
अभिलेख नम्बर ः ०७४१३ वर्षीया एक बालिकालाई बैशाख २८ गते राति डाक्नेश्वरी नपा–१ कविलासाका २८ वर्षीय भोगेन्द्र साह र २३ वर्षीय जयकुमार साहले बलात्कार गरेको आरोपमा पीडितका ठूलोबुवाले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । प्रहरीले जेठ २ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेपनि फरार आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् ।
अभिलेख नम्बर ः ०८११५ वर्षीया बालिकालाई ०७४ जेठ १३ गते शम्भुनाथ नपा–५ का १८ वर्षीय दिपेन्द्र मण्डल र शम्भुनाथ नपा–६ का १७ वर्षीय किसुनदेव चौधरीले बलात्कार गरेको भन्दै पीडितले जेठ १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिइन् । प्रहरीले जेठ १४ गते आरोपितहरुलाई गिरफ्तार गरी जेठ १६ गते जबरजस्ती करणी मुद्दा दर्ता ग¥यो । आरोपितमध्ये चौधरीले पीडित आफ्नो प्रेमिका भएको बतायो । जिल्ला अदालतले ०७४ असार ५ गते आरोपित चौधरीलाई पुपक्र्षका लागि थुनामा र मण्डललाई ३० हजार धरौटी लिई तारेखमा रिहा ग¥यो ।
अभिलेख नम्बर ः ०८३दश वर्षीया एक बालिकालाई तिलाठी कोइलाडी गापा–२ साविक लौनिया गाविस–३ का २३ वर्षीय प्रकाशकुमार मण्डलले जेठ २५ गते रातिको विहान २ बजे बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जेठ २८ गते उजुरी दिए । जिल्ला प्रहरी कार्यालयले असार ९ गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता ग¥यो ।
बालविवाहअभिलेख नम्बर ः ०१२ मल्हनियाँ गाविस–४ की कक्षा १० मा अध्ययनरत १५ वर्षीया सन्तोषीकुमारी दासको माघ २० गते निजकी आमा मीनादेवी दासले भारत मधुबनीको लौकही पिप्राहीका २५ वर्षीय युवासँग ०७३ फागुन ११ गतेका लागि बालविवाहको टुंगो गरेकी थिइन् । विश्वास बाल क्लब मल्हनियाका पदाधिकारीहरु प्रदिपकुमार मण्डल, पंकजकुमार दास र भन्नुकुमार मण्डलले क्लबकी कोषाध्यक्ष समेत रहेकी बालिकाकोे उमेर नपुगी गर्न लागिएको विवाह रोक्न आग्रह गर्दै महिला तथा बालबालिका सेवा केन्द्रमा माघ २३ गते जानकारी दिए । बालिकाकी आमा मीनादेवी र हजुरबुवा झडीलाल दासलाई राखेर प्रहरीले दबाब दिएर सम्झाई बुझाई गरेपछि निश्चित भएको विवाह माघ २४ गते उनीहरुले स्थगित गरे ।
अभिलेख नम्बर ः ०३८ मल्हनियाँ गाविस–७ की कक्षा ११ मा अध्ययनरत जिल्ला बाल क्लब सञ्जालकी सदस्य १७ वर्षीया सन्झा गुप्ताको फागुन १९ गते मौवाहा गाविस–३ का २३ वर्षीय बोलबम गुप्तासँग विवाह भयो । जिल्ला बाल क्लब सञ्जाल, सप्तरीले उमेर नपुगी गर्न लागिएको विवाह रोक्न आग्रह गर्दै जिल्ला बाल कल्याण समिति र जिल्ला प्रहरी कार्यालयमा जानकारी दिए । बालिकाको बुवा, हजुरबुवालाई राखेर इलाका प्रहरी कार्यालय कडरबोनामा सम्झाई बुझाई गरेपनि उनीहरुले विवाह गरे । कुनै कारवाही भएन् । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव, दुव्र्यवहारबलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारअभिलेख नम्बर ः ०५५३५ वर्षीया एक महिलालाई ०७३ माघ ७ गते अपरान्ह कञ्चनरुप नपा–६ स्थित कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रको झाडीमा २० वर्षीय गजेन्द्र खंग खत्वेले बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले माघ २९ गते इप्रका कञ्चनरुपमा उजुरी दिइन् । पीडितले दिएको उजुरी प्रहरीले फागुन ३ गते दर्ता ग¥यो । आरोपित फरार छन् ।
अभिलेख नम्बर ः ०६०१९ वर्षीया एक महिलालाई उनको घरमा ०७३ फागुन १२ गते राति कञ्चनरुप नपा–३ बदगामाका ३७ वर्षीय श्यामलाल मुखियाले बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितकी आमाले फागुन १३ गते इप्रका कञ्चनरुपमा उजुरी दिइन् । जिल्ला अदालतको आदेशले आरोपित चैत ७ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।
अभिलेख नम्बर ः ०६१२७ वर्षीया एक महिलालाई उनको घरमा ०७३ फागुन १७ गते विहान कञ्चनरुप नपा–६ का ३५ वर्षीय विसो मलाहा मुखियाले बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले चैत १२ गते इप्रका, कञ्चनरुपमा उजुरी दिइन् । पीडितले दिएको उजुरी चैत १२ गते दर्ता भयो । प्रहरीले आरोपितलाई असार १२ गते गिरफ्तार ग¥यो ।
अभिलेख नम्बर ः ०६३२५ वर्षीया महिलालाई ०७३ चैत ९ गते जगतपुर गाविस–१ का ३१ वर्षीय जगदेव सदाले गालीगलौज गरी हातपात गरेको भन्दै पीडितका बुवाले सोही दिन इप्रका कल्याणपुरमा उजुरी दिए । आरोपित चैत ९ गते गिरफ्तार भए । प्रहरीले आरोपितविरुद्ध चैत १२ गते केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता ग¥यो । सिडिओ कृष्णबहादुर कटवालको आदेशले ०७४ चैत ३१ गते आरोपित एक हजार धरौटीमा तारेखमा रिहा भए ।
अभिलेख नम्बर ः ०६४महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि. कठौना शाखामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगीलाई चैत १० गते विहान सहायक अधिकृत सुरुङ्गा नगरपालिका–६ कुशहा श्रीपुर घर भएका ४५ वर्षीय भगवानी साहले बलात्कार प्रयास गरेको भन्दै पीडितले कञ्चनरुप नपा–११ बकधुवा महुलीस्थित केन्द्रीय कार्यालयमा उजुरी दिइन् । आरोपित साहलाई चैत १० गते निलम्बन गरेको संस्थाले आचरण विपरित काम गरेको ठहर गर्दै बैशाख १० गते आरोपितको तलब बृद्धि रोक्का, घटुवा र बढुवा रोक्का गरेर कारवाही ग¥यो । पीडितले प्रहरीमा उजुरी दिइनन् ।
अभिलेख नम्बर ः ०७८४० वर्षीया एक महिलालाई जेठ ५ गते विहान हनुमाननगर कंकालिनी नपा–१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा–३ गोइठीका महेन्द्र महात्मान यादव, भारत घर भई हनुमाननगर कंकालिनी नपा–३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साह र ३० वर्षीय एक अपरिचितले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ५ गते उजुरी दिइन् । सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते आरोपितहरुविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता ग¥यो । आरोपितहरु फरार छन् ।
अभिलेख नम्बर ः ०८०१९ वर्षीया सुस्त मनस्थितीकी एक महिलालाई जेठ ७ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णासवरन गापा–२ का २६ वर्षीय जयनारायण पौडेललाई सोही राति गिरफ्तार ग¥यो । पीडितका आमाले इलाका प्रहरी कार्यालय, कञ्चनरुपमा जेठ ७ गते दिएको उजुरी सोही दिन दर्ता भयो । जिल्ला अदालतको आदेशले आरोपित जेठ ३१ गतेदेखि पुपक्र्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
अभिलेख नम्बर ः ०८२२८ वर्षीया एक महिलालाई जेठ २२ गते राति सुतिरहेका बेला महदेवा गापा–१ पकरी गाविस–९ का ३८ वर्षीय रामनारायण यादवले बलात्कार गरेको आरोपमा लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिइन् । प्रहरीले आरोपितलाई गिरफ्तार गरी असार ७ गते जबरजस्ती करणी मुद्दा दर्ता ग¥यो ।
अभिलेख नम्बर ः ०८५२५ वर्षीया एक महिलालाई ०७४ जेठ २९ गते राति बेल्ही चपेना गापा–२ का ३७ वर्षीय अशोक यादवले बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । पीडितको शरिर र मुखमा चिथोरिएर घाउँ चोटपटक लागेको छ । प्रहरीले आरोपितलाई असार ११ गते गिरफ्तार ग¥यो ।
बहुविवाहअभिलेख नम्बर ः ००२छिन्नमस्ता गाविस–३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनले ०७३ पुस २२ गते उनका पति २५ वर्षीय अफजल मियाँले मोरंग रंगेली–१ की २१ वर्षीया हमीदा खातुनसँग बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुस २८ गते उजुरी दिइन् । प्रहरीले बहुविवाहको मुद्दा दर्ता गर्दै पुस २९ गते आरोपितहरुलाई गिरफ्तार गरेको जनायो । सामाजिक परम्पराअनुसार ०६७ सालमा विवाहिता पीडिततर्फ सन्तान नभएको दोष लगाउँदै बहुविवाह गरेका आरोपित अफजलले कुटपिट गरेर घरनिकाला गरेपछि अलपत्र परेको पीडितले बताइन् । जिल्ला अदालतको आदेशले माघ २५ गते अफजल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा र हमीदा पाँच हजार धरौटी राखी तारेखमा रिहा भइन् ।
अभिलेख नम्बर ः ०२४हरीपुर गाविस–७ की २५ वर्षीया पुनमकुमारी चौधरीले ०७३ फागुन २ गते उनका पति ३२ वर्षीय रमेशकुमार चौधरीले र बनरझुला गाविस–६ की २५ वर्षीया अनीता देवी चौधरीसँग बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ०७३ फागुन ९ गते उजुरी दिइन् । आरोपित पतिले कुटपिट गर्दै माघ २९ गते घरबाट निकाला गरेपछि पीडित सिरहाको मोहनपुर कमलपुर गाविस १ विस्थापित भएकी थिइन् ।
अभिलेख नम्बर ०७७कृष्णासबरन गापा–१ जण्डौलकी २८ वर्षीया अनीता चौधरीका पति ३० वर्षीय शिवकुमार चौधरीले सोही ठाउँकी २९ वर्षीया ममता चौधरीसँग ०७४ जेठ ४ गते दोस्रो विवाह गरे । पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा आरोपितहरुविरुद्ध जेठ ८ गते उजुरी दिइन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपितहरुलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरी सोही दिन बहुविवाहको मुद्दा दर्ता ग¥यो । आरोपित शिवकुमारले जेठी पत्नीबाट सन्तान नभएकोले दोस्रो विवाह गरेको बताए । जिल्ला अदालतको आदेशमा आरोपितहरु जेठ ३१ गते पुपक्र्षका लागि जनही ५० हजार धरौटीमा रिहा भए ।
बोक्सीको आरोपमा दुव्र्यवहार÷अमानवीय कार्यअभिलेख नम्बर ः ०८८रुपनी गापा–२ साविक नकटी रायपुर गाविस–३ की ४० वर्षीया विणादेवी साहलाई असार ५ गते साँझ सोही ठाउँका ३७ वर्षीय शिवकुमार मण्डल, उनका भाई ३२ वर्षीय चन्द्रशेखर मण्डल र ३५ वर्षीय धर्मदेव मण्डलले कथित बोक्सीको आरोप लगाई गालीगलौज र कुटपिट गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दिइन् । पीडितका अनुसार आरोपितहरुले कुटिरहेको दृष्य मोबाइलबाट खिचिरहेकी पीडितकी छोरी १८ वर्षीया सरीता साहलाई समेत आरोपितहरुले कुटपिट गर्दै मोबाइल खोसे । जिल्ला प्रहरी कार्यालयले असार ९ गते आरोपितविरुद्ध मुद्दा दर्ता ग¥यो । आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् ।
अन्य दुव्र्यवहारगर्भपतनअभिलेख नम्बर ः ००८शम्भुनाथ नपा–२ खोक्सर प्रवाहा कनकपट्टीकी गर्भवती २८ वर्षीया पुनमदेवी साहलाई ०७३ माघ १४ गते सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजकी छोरी २८ वर्षीया महिरुन खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो. जालम मियाँ, ३५ वर्षीया जमिला खातुन र ५२ वर्षीय भुवन साहले कथित बोक्सी भन्दै कुटपिट गर्दा पाँच महिनाको गर्भपतन भयो । पीडितले जिल्ला प्रहरी कार्यालयमा आरोपितहरुविरुद्ध माघ १७ गते उजुरी दिइन् । प्रहरीले आरोपितमध्ये रफिदनलाई माघ १९ गते गिरफ्तार ग¥यो । जिल्ला न्यायाधीश रोशन गजुरेलको इजलाशले आरोपित रफिदनलाई फागुन १७ गते २५ हजार धरौटी लिई तारेखमा रिहा ग¥यो । जिल्ला अदालतमा हाजिर भएका आरोपितहरु भुवनलाई चैत २८ गते २५ हजार, बैशाख ५ गते लुकमान र महिरुनलाई तथा बैशाख ७ गते जमिला र जालमलाई जनही १५ हजार धरौटी लिई तारेखमा रिहा ग¥यो ।–मिति ः २०७४ असार १६ गते मनोहर कुमार पोखरेल इन्सेक सप्तरी