• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सप्तरीमा कार्यकर्ता भित्र्याउन व्यस्त राजपाका अध्यक्षहरु

सप्तरीमा कार्यकर्ता भित्र्याउन व्यस्त राजपाका अध्यक्षहरु

राजविराज, ११ असार । यति स्थानीय तहको दोस्रो चरणको चुनावी माहौलमा राजनीतिक पार्टीका नेताहरु व्यस्त रहँदा राष्ट्रिय जनता पार्टीका नेताहरु भने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु भित्र्याउन भ्याई नभ्याई भएको छ ।
दुई दिनदेखि राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बाहेकका अध्यक्षहरु सप्तरीमै विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ताहरु भित्र्याउनमा जुटेका हुन् । शनिवार मात्रै सप्तरीको मलेठमा समेत सयौंको संख्यामा प्रभावशाली नेता तथा कार्यकर्ताहरु भित्र्याएका छन् । राजपाका अध्यक्ष मण्डलका अध्यक्षहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र राय यादव र अनिल कुमार झासहित पार्टीका केन्द्रीय पदाधिकारीहरु समेत उक्त कार्यक्रममा सहभागी थिए । सोही अवसरमा नेताहरुले मधेशी जनताको भावनालाई आत्मसात गर्दै ६ ओटा पार्टी मिलाएर एउटै पार्टी बनाएको भन्दै संविधान संशोधन नभएसम्म चुनावमा नजाने सामुहिक प्रतिवद्धता समेत उनीहरुले व्यक्त गरे ।
यसैगरी आइतवार समेत राजपाका नेताहरु जिल्लाको विभिन्न स्थानहरुमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भई विभिन्न पार्टीहरुबाट नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा भित्र्याएका छन् ।
यसैक्रममा महुली स्थित हाम्रा सम्वाददाता बोधराज सुवेदीका अनुसार सप्तरीको महुलीमा विहीवार आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौको संख्यामा राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् ।
राजपाको केन्द्रीय नीति अनुसार निर्वाचन वहिष्कारको आन्दोलन स्वरुप महुली हटिया चोकमा आयोजित उक्त कार्यक्रममा संघीय समाजवादी फोरम, नेकपा एमाले लगायतका दल परित्याग गरी राजपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई राजपाका अध्यक्ष मण्डलका अध्यक्षहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारी र अनिल झाले अविर लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा नेता महतोले आफुहरुको वटमलाइन संविधान संसोधन भएकोले संसोधन पूर्व भएको निर्वाचनलाई स्वीकार्न नसकिने भन्दै त्यसको शसक्त वहिस्कार गर्न आग्रह गरे । स्थानिय पार्टी अगुवा किसन यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अर्का नेता राजकिशोर यादवले आफुहरुको उदेश्य सामाजिक सद्भाव विथोल्ने नभइै मधेशमा बस्ने हरेक नेपालीको अधिकारकोलागि संघर्ष गरेको जिकिर गरे ।
कार्यक्रममा राजपाका केन्द्रीय, जिल्ला र गाउँस्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।