• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

राजपा नेताहरुले भने ‘पहिला संविधान संशोधन गरौं, अनि चुनावमा जाउँला’

राजपा नेताहरुले भने ‘पहिला संविधान संशोधन गरौं, अनि चुनावमा जाउँला’

राजविराज, ११ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले आफुहरु चुनाव विरोधी नभएको भन्दै संविधान संशोधन गरेर माग सम्वोधन नगरेसम्म चुनावमा जान नसकिने बताएका छन् ।

सप्तरीको राजविराज नगरपालिकाको मलेठ स्थित आधारभूत विद्यालयमा आयोजित वृहत पार्टी प्रवेश तथा उर्जा सभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । वर्तमान सरकार र प्रमुख तीन दलले नै राजपालाई चुनावमा भाग लिने वातावरण नबनाएको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको  सरकार र प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले मधेशलाई अधिकार नदिने सवालमा एकमत रहेको उनले बताए ।मधेशी जनताले दशकौंदेखि अधिकारप्राप्तिको लडाई लड्दैआएको चर्चा गर्दै नेता महतोले भने ‘हामीहरु चुनाव विरोधी होइन, चुनाव हुनुपर्छ तर विना संविधान संशोधन चुनाव जाने कुरै आउँदैन ।’

संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको निर्धारण, मधेश आन्दोलनमा मारिएकाहरुलाई शहिद घोषणा, आश्रित परिवारलाई उचित क्षतीपुर्ति, झुठा मुद्दा फिर्ता लगायतका मागहरु पुरा नभएको अवस्थामा चुनावमा जाने कुरा गर्नु शहिदको अपमान र मधेशी जनताको भावनामाथि खेलवाड हुने उनले प्रष्ट पारे । मधेशी जनताको हक अधिकार स्थापित गराउने संघर्षमा सँगैका सहयात्रीहरुले साथ छाडेर गएको बताउँदै उनले भने ‘सँगै आन्दोलन गरेका उपेन्द्र यादवजीलाई आग्रह छ, पहिला मधेशीको अधिकार सुनिश्चित गरौं, अनि चुनावमा जाउँला ।’ मधेशको माग संवोधन नभई चुनावमा जानु भनेको आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरे सरह हुने भएकोले राजपा मुद्दा छाडेर कदापि चुनावमा जाँदैन ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष सरतसिंह भण्डारीले चुनावको नौटंकी गरेर सरकारले मधेशको मुद्दालाई पाखा लगाउन खोजेकोले त्यस्ता नौटंकीबाट मधेशी जनता सचेत रहनुपर्नेमा जोड दिए ।  मधेशका मसिहा भन्नेहरुले नै मधेशको मुद्दा विर्सेका कारण अधिकार प्राप्तिको लडाई लम्विएको उनले बताए । उपेन्द्र यादव र उनको पार्टीप्रति लक्षित गर्दै भण्डारीले मलेठ घटनाका शहिदहरुको रगतको टाटो सुक्न नपाउँदै केहि मधेशी नेता एमालेको भाषा वोल्न थालेको प्रष्ट्याए ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादवले जवसम्म मधेशमा कांग्रेस, एमाले र माओवादी नामको पार्टीको मधेशमा अस्तित्वमा रहेसम्म मधेशको मुक्ति सम्भव नरहेको दावी गरे । प्रमुख तीन दल भनिने तीनओटै पार्टी मुक्त मधेश बनाउनु पर्नेमा उनले जोड दिए । मधेशी जनताकालागि कांग्रेस, एमाले र माओवादी लगायतका पार्टी भन्दा पनि ती पार्टी भित्र रहेका मधेशी जनताले झन समस्या गरिरहेको वताए । मधेशका जिल्लामा बस्ने भएपछि मधेशीले पाउने सुविधा नै पाउने भन्दै सम्पुर्ण पहाडि समुदायलाई पनि कांग्रेस, एमाले र माओवादी छोडेर राजपाको आन्दोलनमा गोलवन्द हुन आग्रह गर्दै उनले भने ‘उपस्थिती र जनसंख्याको आधारमा प्रतिनिधित्व र अधिकारको सुनिस्चितता चाहिने हो भने अन्य पार्टी छोडेर राजपामा आउनोस ।’

राजपा अध्यक्ष मण्डलका अर्का अध्यक्ष नेता अनिल झाले चुनाव केन्द्रित भएर राजपाका केही नेता तथा कार्यकर्ता अन्य पार्टीमा लागेको प्रसंग कोट्याउँदै दुई–चार जनाले चुनावमा स्वतन्त्र उम्मेदवारी दिंदैमा र पार्टी छोड्दैमा राजपा कमजोर नहुने बताए । मधेशको मुद्दा कमजोर भए मात्रै पार्टी कमजोर हुने वताउँदै राजपालाई ब्यक्ति प्रधान भन्दा पनि मुद्दा प्रधान वनाएर अघि वढ्नु पर्नेमा नेता झाले जोड दिए ।

राजपा अध्यक्ष मण्डलका अर्का अध्यक्ष राजकिशोर यादवले मधेशमा सेना प्रहरीको बलमा राजपालाई बाहिर राखेर जवरजस्ती चुनाव गराउने खोजे चुनाव भएकै मितिदेखि गोरखाली सत्ताको अन्त्य र मधेश सत्ताको सुरुवात हुने चेतावनी दिए । वर्तमान चुनाव षडयन्त्रपूर्वक बनाईएको संविधान कार्यान्वयनको कडीका रुपमा रहेको वताउँदै उनले उनले भने ‘गोरखाली राज्य सत्ताको चिरस्थायित्वका लागि बनाईएको विभेदकारी संविधानलाई वैधानिकता दिनका लागि राजपा चुनावमा नजाने प्रतिवद्धता दोहो¥याए ।सरकारको योजना अनुरुप स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सम्पन्न भए संवैधानिक रुपमै मधेशी जनता दोश्रो दर्जाको नागरीक वन्ने र गोरखाली राज्य सत्ताको विस्तारीत रुपमा रुपमा रहेको नेपाल सरकारको सम्पुर्ण षडयन्त्र पुरा हुने भन्दै उनले मधेशको माग सम्वोधन नभएसम्म चुनावमा सहभागी हुने सम्भावना नरहेको दावी गरे । न्यूनतम सर्त पनि पुरा नगरी चुनावमा जान नसकिने भन्दै उनले संविधान कार्यान्वयनका लागि भईरहेको चुनावमा सहभागि भएर त्यसलाई वैधानिकता प्रदान गर्न नहुने पनि वताए ।

राजपा सप्तरीको अध्यक्ष मण्डलका संयोजक सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले, कांग्रेस, एमाओवादी लगायतका विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता राजपामा प्रवेश गरेका थिए । राजपा अध्यक्ष मण्डलका सदस्यहरुले उनीहरुलाई अविर–माला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।