• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

निजामती कर्मचारीको ट्रेड यूनियन अधिकार नखोसियोस्

निजामती कर्मचारीको ट्रेड यूनियन अधिकार नखोसियोस्

राजविराज । ७ असार । प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदाले निजामती कर्मचारीको ट्रेड यूनियन अधिकार कटौती गर्न थालेकोमा सप्तरी निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनले विरोध जनाएको छ ।

आधिकारिक ट्रेड यूनियनको बुधबार अपरान्ह बसेको बैठकले एक निर्णय पारित गर्दै निजामती कर्मचारीले प्राप्त गरेको ट्रेड यूनियन अधिकार नखोस्न नेपाल सरकारसँग माग गरेको छ । आधिकारिक ट्रेड यूनियनका सप्तरी अध्यक्ष अजय कुमार झाको अध्यक्षतामा बसेको बैठकले नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामतीकर्मचारी यूनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्चले माग गर्दै आएका अन्य मागहरूको समेत समर्थन गर्दै बैठकले संघीय प्रणाली कार्यान्वयन गर्ने क्रममा भइरहेको निजामती कर्मचारीको समायोजन गर्दा एक तह बढुवा गर्न र त्यसो गर्दा ज्येष्ठतालाई पहिलो आधार बनाउन माग गरेको अध्यक्ष झाले बताउनुभयो । बैठकले समायोजन भएको कर्मचारी ३५ दिनभित्र हाजिर हुनुपर्ने र हाजिर नभए बर्खास्तीमा पर्ने भनी भइरहेको व्यवस्थाप्रति समेत आपत्ति जनाउँदै खारेजीको माग गरेको छ ।
आधिकारिक ट्रेडयूनियनका केन्द्रीय अध्यक्ष पुण्य ढकालको मंगलबार भएको सप्तरी भ्रमणको क्रममा सप्तरी आधिकारिक ट्रेड यूनियनका पदाधिकारीहरूसहित भेट गरी कर्मचारीहरूको समस्याहरू राखिएको पनि अध्यक्ष झाले जानकारी दिनुभयो ।