राजविराज, ७ असार । राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले मनसुन प्रवेश गरिसकेकोले सम्भावित बाढी, डुबान एवम् नदी कटान लगायतका समस्याहरुबाट जोगिन सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधवार राजविराजमा आयोजना गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको समन्वय बैठकका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । डिसिए, अक्सफाम, कोशी पीडित समाज सप्तरीको सहयोगमा आयोजित बैठकमा नेपाल र भारतका सम्वन्धित पक्षको बेवास्ताका कारण करिब ९ वर्ष अघि कोशी बाँध भत्किएर ठूला जनधनको क्षति भएकोले सूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिईएको छ । सूचना प्रणाली प्रभावकारी नभएका कारण आसपासका वस्तीका बासिन्दाहरुले जानकारी नपाएको अवस्था तथा उद्धारमा खटिएका नेपाली सेनासँग समेत उद्धार सामग्री नभएकोले चाहेर पनि मानव जिवन जोगाउन नसकिएको कोशी पीडित समाजका निर्देशक देवनारायण यादवले बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले चतरा, खाँडो, कोशी लगायतका नदीहरुको बहावबारे सूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । कोशी व्यारेजमा मिसिने नदीहरुको वहाव, वर्षाको मापनलगायतका कुराहरुमा विशेष ध्यान दिएर स्थानीय प्रशासन, आपतकालिन कार्य सञ्चालन केन्द्र लगायत सरोकारवालाहरुले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै उनले भने ‘सम्भावित आपतकालिन अवस्थाबाट जोगिन र जोगाउनकालागि सञ्चारमाध्यमहरुमा समेत सूचना प्रवाहलाई व्यवस्थित बनाउनुपर्दछ ।’ कार्यक्रममा जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका डुबान विरुद्धको संघर्ष समितिका अध्यक्ष देवनारायण यादवले खाँडो नदी नियन्त्रणको नाममा निजी जग्गाबाट बाँध बनाउने कार्य भईरहेकोले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।
नदीको पुरानो वहाव भएर बाँध तथा च्यानल खन्न सुझाव दिँदै निजी जग्गामा कुनै पनि हालतमा बाँध निर्माण हुन नदिने उनले दावी गरे । प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालले सूचना प्रणालीलाई व्यवस्थित गर्न तथा वर्षा मापनमा समेत विशेष ध्यान पुर्याउन सम्वन्धित पक्षलाई उनले निर्देशन दिए । विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै सम्भावित आपतकालिन अवस्थाबाट जोगिन र जोगाउन आवश्यक सम्पूर्ण तयारी पुरा गरी तयारी अवस्थामा रहन निर्देशन दिँदै उनले भने ‘पत्रकारलगायत समाजका सबैपक्षले विशेष चनाखो भएर आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह छ । खाँडो नदी नियन्त्रण गर्न बाँध तथा च्यानल खन्ने कार्यमा कुनै पनि पक्षलाई अवरोध नपुर्याउन प्रमुख जिल्ला अधिकारीले आग्रह गरे ।
‘हाल नदी जुन अवस्थामा बगिरहेको छ सोही अवस्थामै काम गर्नुपर्ने बाध्यता रहेकोले कुनै पनि बहानामा अवरोध पुर्याउन मिल्दैन’ प्रमुख जिल्ला अधिकारी कटवालले भने ‘अवरोध पुर्याईएमा क्षतिको जिम्मेवारी अवरोध गर्नेहरु नै हुने भनी आफुहरु निर्णय गर्न बाध्य हुनेछौं ।’ कार्यक्रममा स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, कोशी व्यारेजका प्रमुख विजय कुमार सिंह, नेपाल प्रहरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदी, सशस्त्र प्रहरी उपरीक्षक रामअधार यादव, नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, अनुसन्धान प्रहरीका उप–निर्देशक देवराज लिम्बु, कृष्ण दल गणका सेनानी अशोक कुमार कार्की, जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डे, गैरसकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सिंचाई विभाग डिभिजन कार्यालयका प्रमुख अशोक कुमार साह, जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठलगायत सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कोशी पीडित समाजका कार्यक्रम संयोजक ज्योतिश कुमार यादवले उद्देश्यबारे जानकारी दिए ।