• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

राजपाका नेता भन्छन् ‘संशोधन विना जुनसुकै मितिमा गरिने निर्वाचन विथोल्छौं’

राजपाका नेता भन्छन् ‘संशोधन विना जुनसुकै मितिमा गरिने निर्वाचन विथोल्छौं’

राजविराज, २ असार । राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले संविधान संशोधन विना जुनसुकै मितिमा गरिने निर्वाचनलाई विथोल्ने बताएका छन् ।
राष्ट्रिय जनता पार्टी सप्तरीले शुक्रवार राजविराज स्थित शहिद दशन चौकमा आयोजना गरेको जानकारी सभा तथा पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । आन्दोलन गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताउँदै उनले भने ‘ संविधान संशोधन गरी जुनसुकै मितिमा गरिने निर्वाचन आफुहरुले विथोल्नेछौं ।’
राजपा नेता यादवले संविधान संशोधन गरी देशलाई देशलाई निकास दिनुको साटो निर्वाचनको तिथि सारेर द्वन्द्व निम्त्याउने काम गरेको टिप्पणी गरे । आफुहरु चुनाव विरोधी नभएको भन्दै सरकार र प्रमुख दलहरुको नियतले निम्त्याएको परिणामका कारण सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउँदै उनले भने ‘माग पुरा नभएसम्म आन्दोलन जारी रहनेछ, मधेशका जुन जिल्लाहरुमा चुनाव हुन्छ उक्त जिल्लाहरुमा समेत पुगेर हामी चुनाव हुन दिँदैनौं ।’
राजपाका अर्का वरिष्ठ नेता शेखर कुमार सिंहले प्रदेश नम्वर–२ को मात्र निर्वाचन सार्नुसँग राजपाको कुनै तालमेल नरहेको भन्दै आफुहरुको मुख्य मुद्दा संविधान संशोधन भएको बताए । सरकारले गरेको चुनाव सार्ने निर्णय पूर्वाग्रही एवम् षडयन्त्रपूर्ण रहेकोले मधेशमा कुनै पनि हालतमा चुनाव हुन नदिन आम मधेशी जनतालाई सशक्त रुपमा तयार रहन उनले आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै राजपा महासचिव मनिष कुमार सुमनले मधेशी–आदिवासी विरोधी रणनीतिमा केही मधेशवादी दलहरु नै सामेल हुनु दुर्भाग्पूर्ण भएको भन्दै संघीय समाजवादी फोरम नेपाललाई समेत जारी आन्दोलनमा सामेल हुन आग्रह गरे । मधेश र मधेशी जनताको माग पुरा नभएसम्म आन्दोलन जारी रहने भन्दै राजपाको विषयमा विभिन्न अनर्गल प्रचारवाजी भईरहेकोले त्यसको पछि नलाग्न उनले आम जनतासँग आग्रह गरे ।
सप्तरीदेखि पर्सासम्मका जिल्लाहरुमा स्थानीय निर्वाचन स्थगित गर्न बाध्य भएको भन्दै जबरजस्ती निर्वाचन गराउने कुटील षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने उनले बताए । सरकार अझैं आफुहरुको मागलाई गम्भीरतापूर्वक नलिए मधेशी जनता थप सशक्त आन्दोलन गर्न बाध्य हुने बताउँदै उनले भने ‘आन्दोलनको बलमा सरकारलाई माग सम्वोधन गर्न घुँडा टेकाउन बाध्य पार्ने छौं ।
राजपा अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष रामनारायण यादव ‘रामबाबु’, सह–महासचिवद्वय जयप्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, केन्द्रीय सदस्यहरु सत्यनारायण यादव, रामप्रित यादव, दिनेश कुमार यादव, विजय कुमार यादव, दिपेन्द्र कुमार चौधरी, नरेन्द्र यादव, साधना झा, अमरनाथ मण्डल, पूनम यादवलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राजपा अध्यक्ष मण्डलका अध्यक्ष सतिश कुमार सिंहले पार्टीको आधिकारिक धारणासहितको प्रेस विज्ञप्ति वाचन गरे ।