राजविराज, १ असार । सप्तरीको साबिक तिलाठी गाविसका वासिन्दाहरुले संविधान संशोधन गरेर मधेशी जनताको माग सम्वोधन नगरेसम्म आफुहरु कुनै पनि चुनावमा सहभागी नहुने निर्णय गरेका छन् ।
तिलाठी स्थित ग्राम स्थानमा विहीवार सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टीसमेतका राजनीतिक दल, वुद्धिजिवीसमेतको सहभागिता रहेको उक्त बैठकले राष्ट्रिय जनता पार्टी नेपालले राखेको माग आम मधेशी जनताको माग भएको भन्दै माग पुरा नभएसम्म आफुहरु कुनै पनि निर्वाचनमा नजानेमा सहमत भएका छन् । वर्तमान अवस्थामा चुनावको माहौल समेत नरहेको तथा संविधान संशोधन मधेशी जनताकालागि आवश्यक रहेकोले आफुहरु यथास्थितिमा चुनाव वहिष्कारको निर्णयमा पुगेको तिलाठी गाउँ विकास समितिका पूर्व अध्यक्ष दिनेश्वर मिश्रले बताए । ‘म नेपाली कांग्रेसको पुरानो कार्यकर्ता हुँ, पार्टीले मधेशको मुद्दा सम्वोधन गर्नमा ठोस पहल गर्नेमा आशावादी छु’ उनले भने ‘पहिला म मधेशी हुँ, त्यसपछि अरु केही ।’
सर्वपक्षीय छलफल पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै तिलाठीका अवकाश प्राप्त प्राचार्य अमरनाथ झाले संविधान संशोधन बिनाको निर्वाचनमा आफुहरु जानुको औचित्य नरहेकोले यस्तो निर्णय लिएको बताए । मधेशी जनताको माग सम्वोधन गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘संविधान संशोधन विनाको निर्वाचनमा हामी सहभागी हुँदैन, हामी जनता त्यस्तो मतदानमा सहभागी पनि हुँदैनौं, जबरजस्ती गर्न खोजिए त्यसको सामना गर्न पनि हामी तयार छौं ।’