राजविराज, ३१ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको अवरोधका कारण सप्तरीका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिम अनिश्चितकालकालागि स्थगन भएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले बुधवार कार्यक्रम स्थल महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसको मूल गेटमा घेराउ गर्दै सहभागीहरुलाई प्रवेश गर्न नदिएपछि करिब १२ बजेको समयमा तालिम स्थगन गरिएको छ । राजपाका नेताहरुले ५५ जना मतदान अधिकृत तथा सहायक अधिकृतहरुलाई नियन्त्रणमा लिएर आन्दोलनको औचित्यबारे जानकारी गराएका थिए ।
उनीहरुले चुनावमा खट्ने मतदान अधिकृत तथा सहायक अधिकृतहरुलाई बीच बाटोबाटै फर्काएका थिए । कार्यक्रममा तालिमका सहभागीहरु कार्यक्रम स्थलभित्र प्रवेश गर्न नपाएपछि निर्वाचन सम्वन्धी तालिम अर्को सूचना नआएसम्मकोलागि स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश कुमार ठाकुरले जानकारी दिएका छन् ।
यता राजपाका नेताहरुले कार्यक्रममा सहभागी हुन आएका मतदान अधिकृत तथा सहायक अधिकृतलाई आन्दोलनको औचित्यबारे जानकारी गराउँदै निर्वाचन सम्वन्धी कार्यक्रममा सहभागी नहुन आग्रह गरे । तालिम स्थगन गरिएपछि राजपाका नेता तथा कार्यकर्ताहरु फर्किएका छन् ।