• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

मृत्यु अघि पाठकले लेखे ‘अधिकार सम्पन्न मधेश हेर्ने सपना यो जनममा पुरा भएन’ 

मृत्यु अघि पाठकले लेखे ‘अधिकार सम्पन्न मधेश हेर्ने सपना यो जनममा पुरा भएन’ 

राजविराज, ३० जेठ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–५ (साविक वडा नम्वर–८) निवासी शिक्षा क्षेत्रका वौद्धिक व्यक्तित्व कुमार पाठकको सोमवार राती निधन भएको छ ।

बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा हृदयघात भएर राती १.३० बजेको समयमा ५६ वर्षको उमेरमा निधन भएको हो । राजविराज स्थित आफ्नै घरमा खाना खाएर सुतेका पाठकलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै एम्बुलेन्समा राखेर नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । जिल्लाकै चर्चित विद्यालय दुर्गा सेकेण्ड्री स्कूलका संस्थापक प्रिन्सिपल समेत रहेका उनी निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याव्सन) सप्तरीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत भएका थिए ।

सामाजिक गतिविधिमा समेत सक्रिय रहँदैआएका पाठक सप्तरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष रहेर विकृति विसङ्गती विरुद्ध सचेतना, जागरण, दैवीप्रकोपबाट प्रभावितलाई राहत सहयोग तथा रक्तदान लगायतका कार्यक्रमलाई तिब्रता दिएका थिए ।  मैथिली साहित्य परिषद्का आजीवन सदस्य समेत रहेका उनले मैथिली भाषाको प्रचार–प्रसारका साथै भाषिक एव्म सांस्कृतिक अभियानलाई सहयोग पुर्याउँदैआएका थिए । लायन्स क्लवको सदस्य समेत रहेका शिक्षा क्षेत्रका विशिष्ठ व्यक्तित्व पाठक विगत केही वर्षदेखि मधेश आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग समेत पुर्याउँदैआएका थिए । प्रखर वौद्धिक व्यक्तित्वको रुपमा चिनिएका जनप्रिय पाठकको शव विहान भारत विहारको मन्सापुर स्थितको पुख्र्यौली घर अन्तिम संस्कारकालागि लगिएको छ ।

उनका एक पत्नी र तीन छोरा रहेको छ । उनको जेठा छोरा अमितले दागवती दिने पारिवारिक श्रोतले जनाएको छ ।  पाठकले सामाजिक सञ्जालमार्फत समेत आफ्ना अभिमतहरु निरन्तर रुपमा अभिव्यक्त गर्दैआएका थिए । उनले निरन्तर चलाउँदैआएको आफ्नो फेसबुकमा आइतवार राती २.२७ बजे अन्तिम स्टाटस लेखेका छन् । उक्त स्टाटसमा मधेश सबैकालागि चलखेल गर्ने थलोमा परिणत हुँदैछ । अधिकारसम्पन्न मधेश हेर्ने सपना यो जनममा पुरा नहुने भन्दै आफ्नो आयु समेत सानो रहेकोले सबैको मङ्गल होस् भनी कामना गरेको छ । उनले लेखेको अन्तिम स्टाटस पढ्दा शायद अब बाँच्दिन भन्ने कुरा आभास भईसकेको हुनसक्छ ।

सप्तरीका वौद्धिक व्यक्तित्व पाठकले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन्ः

वर्तमान परिस्थितिले मधेशको अवस्थालाइजूनकुराको भय थियो आखिर त्यही हुने भयो । अव फेरी मधेश सवैकालागि चलखेल गर्ने थलोमा परिणत हुने लगभग तय छ । अधिकार सम्पन्नभइ समृद्धिको वाटोमा लागेका मधेशलाइ हेर्ने सपना अव यो जनममा पूरा हुने भयेन त्यसै पनि मेरोआयू सानो छ । सवैको मङगल होस ।