• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

असार १४ गतेको चुनाव तिथि अब सारिंदैनः प्रमुख निर्वाचन आयुक्त यादव

असार १४ गतेको चुनाव तिथि अब सारिंदैनः प्रमुख निर्वाचन आयुक्त यादव

राजविराज, २८ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आगामी असार १४ गतेको निर्वाचन तिथि कुनै पनि हालतमा नसारिने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा सदरमुकाम राजविराजमा आइतवार आयोजना गरिएको निर्वाचन सम्वन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । राजनीतिक दलहरुकै आग्रहमा पटक–पटक निर्वाचन तिथि सारिएको जानकारी दिँदै उनले भने ‘वैशाख ३१ गतेबाट सार्दासार्दै असार १४ गतेमा गईसक्यो, अब कुनै पनि हालतमा चुनाव सारिदैन, जसरी भए पनि चुनाव हुन्छ ।   निर्वाचनकालागि सम्पूर्ण तयारीहरु पुरा भईसकेको जानकारी दिँदै आयोग सबै भावनालाई समावेश गर्नकालागि भरमग्दुर प्रयास गर्दागर्दै पनि असन्तुष्टिहरु रहेको बताए ।

आफ्ना असन्तुष्टिहरुलाई शान्तिपूर्ण तवरबाट राख्नुलाई आफुले सकारात्मक रुपमा लिएको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले भने ‘लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोध जनाउनु स्वाभाविक हो तर आफ्नो हक खोज्ने क्रममा अरुको अधिकारको हनन् गर्नुहुदैन । सम्भावित वर्षाबाट मतपेटिकाहरु सुरक्षित राख्नका लागि प्लाष्टिकलगायतका सामग्रीहरु व्यवस्था गरिएको उनले जानकारी दिए । निर्वाचन लोकतन्त्रको मूल आधार स्तम्भ भएको भन्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई  शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आह्वान गरे ।

जनताले तिरेको करबाट प्राप्त रकमको लगानी सरकारले निर्वाचनमा लगाएको भन्दै स्थानीय तहको निर्वाचनलाई सफल पार्न उनले आग्रह गरे ।सोही कार्यक्रममा बोल्दै नेकपा एमालेको कार्यक्रम राजपाका नेता तथा कार्यकर्ताहरुले बिथोलेको प्रति आपत्ति जनाउँदै घटनाको विषयमा गम्भीरतापूर्वक लिन उनले ध्यानाकर्षण गराए  । जिल्लामा शान्ति सुरक्षा, उम्मेदवार तथा मतदाताको सुरक्षालगायतका विषयहरुमा ध्यान दिन स्थानीय प्रशासनलाई प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कट्वालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाको निर्वाचन तयारी अवस्थाबारे जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले जानकारी दिए । राजनीतिक दल, सुरक्षा प्रमुख, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी, कानूनव्यवसायीसमेतले जिल्लाको अवस्थाबारे जानकारीसहित सुझाव दिए । यसैबीच प्रमुख निर्वाचन आयुक्त डा. यादवलाई राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै नाराबाजी गरेका छन् । कालो झण्डा देखाउने क्रममा केही बेर घम्साघम्सीसमेत भएको थियो ।