• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

नेपाली कांग्रेसका सभापति देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसका सभापति देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलवार नेपालको ४० औं प्रधानमन्त्रीमा चुनिएका छन् ।

व्यवस्थापिका संसदको बैठकमा देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । संसदमा कुल ५५८ सांसद उपस्थिति भएका थिए । उनी चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
प्रधानमन्त्रीमा देउवालाई निर्वाचित गरियोस् भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेपछि कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहितका सांसदहरुले समर्थन जनाएका थिए ।
डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा जन्मिएका देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेका थिए । नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य समेत रहिसकेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा प्रधानमन्त्री देउवा पटक–पटक गरी नौ वर्ष जेलमा जीवन विताईसकेका छन् ।