• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपा सप्तरीको गर्जनले एमालेको कार्यक्रम स्थगित

राजपा सप्तरीको गर्जनले एमालेको कार्यक्रम स्थगित

राजविराज, २२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनमा नेकपा एमालेले समर्थन नजनाएसम्म सप्तरी जिल्लामा कुनै पनि कार्यक्रम आयोजना नगर्न आह्वान गरेको छ ।
पार्टीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । मधेशको मुद्दालाई लिएर लामो समयदेखि आन्दोलन चलिरहेको भन्दै प्रेस विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनका क्रममा करिब पाँच दर्जन मधेशी सपूतहरुको बलिदानीलाई विर्सन सक्ने अवस्था छैन ।’
शहिदहरुको बलिदानीको कदर गर्न राजपा नेपाल जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको भन्दै संविधान संशोधनकालागि सबै भन्दा बाधक बनेर बसेको नेकपा एमाले नै रहेको प्रेस विज्ञप्तिमा जनाईएको छ । संविधान संशोधनमा एमालेले सहयोग नगरेसम्म आफूहरु विरोधमा रहीरहने जनाउँदै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘एमालेले गर्ने कुनै कार्यक्रमका क्रममा हुने क्षतिको जिम्मेवारी स्वयम् एमालेले नै लिनुपर्नेछ ।’
यसैबीच नेकपा एमाले नगर कमिटी राजविराजले जेठ २३ गते आयोजना गर्ने भनिएको पार्टी प्रवेश तथा मेयर, उप–मेयरको घोषणा सभा कार्यक्रम राजपा नेपाल सप्तरीको विशेष आग्रहमा तत्कालकालागि स्थगन गरिएको नगर समिति संयोजक निरञ्जन कुमार झाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।