राजविराज, २१ जेठ । सप्तरीको सुन्दरी, बलान र खाँडो खोला नदी संरक्षण प्रणाली संरक्षण कार्यक्रम (राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) अन्तर्गत सञ्चालित कार्यक्रमहरुको आइतवार एक संयुक्त टोलीले अनुगमन गरेको छ ।
जिल्ला वन कार्यालय तथा योसँग सम्वद्ध अन्य निकायहरुको कार्यक्रमहरुको संयुक्त अनुगमन गरिएको हो । टोलीले जिल्ला वन कार्यालय अन्तर्गत राजविराज, रुपनी, पन्सेरालगायतका स्थानहरुमा विरुवा उत्पादन, बृक्षारोपण पश्चात घेरबेर गर्न निर्माण गरिएको आरसीसी पोलसमेतको निरीक्षण गरेको छ ।
यसैगरी जिल्ला भू–संरक्षण कार्यालयले लगाएको नर्सरी, पिप्रा पश्चिम–८ स्थित पञ्चकन्या सामुदायिक वनमा निर्माण गरिएको तितरी खहरे संरक्षण पोखरी उपभोक्ता समितिद्वारा निर्मित रन अफ हार्भेस्टिङ्ग ड्याम, इनार पुनर्निमाण कार्य समेतको स्थलगत अनुगमन गरिएको छ । यस्तै संयुक्त टोलीले जिल्ला पशु सेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित गोठ सुधार तथा गोबर ग्याँस प्लान्ट समेतको निरीक्षण गरेका छन् ।
अनुगमन टोलीमा जिल्ला वन अधिकृत धिरेन्द्र प्रसाद सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादव, जिल्ला पशु सेवा कार्यालयका प्रमुख अशोक कुमार सिंह, जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख विष्णु वहादुर भण्डारी, भू–संरक्षण ई. युनुस राइन, सहायक भू–संरक्षण अधिकृत दिनेश प्रसाद चौधरी, राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झा, नेकपा माओवादी केन्द्रका केदार देव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादवसमेतका व्यक्तिहरु सहभागी थिए ।
