राजविराज, १९ जेठ । राजविराजस्थित आइडियल सहकारी संस्थाले ५० हप्ते सरसफाई कार्यक्रममा जुटेका सप्तरी युथ नेपाललाई टि–शर्ट उपलब्ध गराएको छ ।
सरसफाईमा लागेका युवाहरुलाई उर्जा प्रदान गर्न टि–शर्ट उपलब्ध गराइएको हो । संस्थाले शुक्रबार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सप्तरी युथ नेपाललाई ५१ थन टि–शर्ट उपलब्ध गराएका छन् ।
कार्यक्रममा आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश आशले सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवलाई टि–शर्ट हस्तान्तरण गरेका छन् । कार्यक्रममा आइडियल अध्यक्ष आशले युवाहरुले गरिरहेको सकारात्मक कामप्रति खुशी भएर उर्जा बढाउनका निम्ति टि–शर्ट उपलब्ध गराइएको जानकारी दिएका छन् ।
कार्यक्रममा आइडियल सहकारी संस्थाका सञ्चालक समिति सदस्य तथा राजविराज नगरपालिकाका पूर्व–मेयर शैलेश कुमार चौधरीले युवाहरुले गरिरहेको काम सराहनीय रहेको बताउँदै भविष्यमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले सरसफाई अभियान प्रारम्भ गरेको शुरुवाती अवस्थामा समस्या भएपनि अहिले आएर भइरहेको सहयोगले युवाहरुलाई नयाँ जोश र जाँगर थपेको बताए । उनले सप्तरी युथ नेपाल सप्तरीलाई परिवर्तन गर्ने दिशामा अघि बढेको हुँदा सबैलाई सहयोग गर्न आग्रह गरे ।