राजविराज, १७ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हातमा ब्यालेट आएकोले त्यसको सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा बुधवार आयोजित पार्टीको प्रतिवद्धता पत्र सार्वजनिकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी जनताकालागि स्थानीय निकाय महत्वपूर्ण अवसर भएको बताउँदै उनले भने ‘मधेशी जनताको हातमा अहिले ब्यालेट आएको छ, त्यसैले ब्यालेटको सदुपयोग गरेर देखाउनु जरुरी छ ।’
वर्तमान स्थानीय तहमा अत्याधिक अधिकार प्रत्यायोजित गरिएको दावी गर्दै फोरम अध्यक्ष यादवले मधेशी जनतालाई चुनावमा भाग लिएर अधिकार आफ्नो हातमा लिन समेत आग्रह गरे । मधेशको स्थानीय सत्ता मधेशीको हातमा दिन चुनावलाई उपयोग गर्दै अधिकारप्राप्तिको संघर्षलाई अगाडि बढाउनुपर्नेमा अध्यक्ष यादवले जोड दिए । विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न तथा मजबुत रुपमा उपस्थिति देखाउनकैलागि आफुहरु चुनावमा भाग लिएको बताउँदै उनले भने ‘अघिल्लो संविधान सभाको निर्वाचनमा मधेशबाट मधेशीहरुको उल्लेख्य रहे पनि दोस्रो संविधानसभाको चुनाव एकदमै उपस्थितिकै कारण मधेशको मुद्दा स्थापित गर्न थप संघर्ष गर्नुपरेको छ ।’
फोरमकी केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशकी संयोजक रेणु यादवले फोरम नेपालकै संघर्षका कारण महिलाहरुको हक अधिकारका साथै स्थानीय तहमा प्रतिनीधित्वको सुनिश्चितता भएको बताईन् । मधेश र मधेशी जनताप्रति फोरम नेपाल जिम्मेवार रहेको भन्दै स्थानीय तहमा प्रतिनीधि चुन्ने मौका नगुमाउन उनले आग्रह गरिन् ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध सिंह यादव, तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झालगायतले सम्वोधन गरे । सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यहरु भीमराज यादव, भरत साह, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य आमेन्द्र चौधरी, फोरम लोकतान्त्रिकका कमलनारायण चौधरी, सत्यदेव यादवलगायत आठ सय जना फोरम नेपालमा प्रवेश गरेका छन् ।
यसैगरी सप्तरीको हनुमाननगरमा आयोजित एक समारोहका बीच बुधवारै कृष नारायण यादवको नेतृत्वमा करिब एक हजार जना फोरम नेपालमा प्रवेश गरेका छन् । कार्यक्रम सञ्चालन पार्टीका निवर्तमान सह–सचिव उपेन्द्र साहले गरे भने स्वागत निवर्तमान उपाध्यक्ष कन्तलाल चौधरीले गरे ।