राजविराज, १६ जेठ । तराई मधेशका जिल्लाहरुमा दाइजो प्रथा समाजको कलंकको रुपमा विकसित हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
सप्तरीको पौवाँमा जिल्ला समन्वय समितिको सहयोगमा दहेज मुक्त मिथिलाले आयोजना गरेको ‘दहेज उन्मुलन सम्वन्धि सचेतना’ कार्यक्रमका सहभागीहरुले यस्तो कुरा बताएका हुन् । ‘दाईजो नदिई चेलीको त विहे नै हुदैन’ स्थानिय दयावति यादवले भनिन्–‘चेलीको विहेका लागि दाइजो जुटाउन मात्र आफ्नो भएभरको जग्गा समेत वेच्नुपर्ने बाध्यता भईसकेको छ ।’
वेरोजगारी, गरिब लगायतका समस्या कायमै रहेको हाम्रो समाजमा झन छोरीलाई विवाह गराउनुपर्ने भनेर सोच्दा त मर्नु न बाँच्नु सरह नै हुन्छ अर्को सहभागी निशा दास बताउँछिन् । दाईजो प्रथाले हाम्रो समाजका हरेक वर्गका मानिसलाई नराम्ररी पिरोलिरहदाँ पनि सरोकारवालाको ध्यान नजानु दुखद रहेको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका समाजसेवी महेन्द्र गुरमैताले बताए । दाइजो प्रथालाई उन्मुलन गर्नुपर्ने जोड दिंदै उनले यसका लागि समाजमा सचेतना आवश्यक रहेको सुझाव दिए ।
आयोजक संस्थाका उपाध्यक्ष नवीनकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्योती यादव, शम्भु प्रसाद चौधरी, निरजन सिंह लगायतका वक्ताहरुले दाइजो प्रथा उन्मुलन गर्नका लागि समाज सचेत हुनुपर्नेमा जोड दिए ।