निरंशुक राजतन्त्रको अन्त्य गरेर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । गणतन्त्र स्थापनापछि दुई राष्ट्रपतिले राष्ट्राध्यक्षको क्रमशः जिम्मेवारी पनि सम्हालिसकेका छन् । हिजो राजतन्त्र वा राणातन्त्रमा शासकका छोरा नै मुलुकको सत्ता सम्हाल्ने गर्दथे, शासक परिवारकै हालिमुहाली चल्थ्यो भने आज परिस्थिति फेरिएको छ । यही परिवर्तनका कारण नै जनताका छोरा छोरी राष्ट्रको सर्वोच्च पदमा पुग्ने गरेका छन् । शासनमा एकल परिवारवादको सदाकालागि अन्त्य भएको छ, नेपाली जनताका लागियो ठूलो उपलब्धिसँगै गौरवको विषय पनि हो । किनकी तिनै नेपालीका छोराछोरीले मुलुकको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका छन् । अनि देशको सार्वभौम सत्ताका मालिक पनि नेपाली जनतानै भएका छन् । हिजो सम्म शासकको निरंकुशताविरुद्ध सितिमिति कसैले बोल्ने साहस गर्दैन थे, तर, आज अन्याय अत्याचार, विकृत्ति, विसंगति र बेथितिका विरुद्ध जनताले बोल्ने अधिकार पाएका छन्, संविधानले नै अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेपछि विश्वका लोकतान्त्रिक मुलुकहरुको दाँजोमा नेपाल पनि छरिन पुगेको छ । लोकतान्त्रिक मुलुकको नागरिक बन्न पाएकोमा कुने पनि देशका जनताले गौरवको अनुभूति नगर्ने प्रश्नै भएन ।
यदि हुँदाहुँदै पनि गणतन्त्र दिवसमा जुन हर्ष उल्लास र अपार सहभागिता हुनुपर्ने हो, त्यस्तो विरलै देखिने गरेको छ । जेठ १५ गते मुलुकमा गणतन्त्र दिवस मनाइन्छ । केन्द्रदेखि जिल्लाका सदरमुकामहरुमा पनि कार्यक्रमहरुको आयोजना गरिन्छ । तर, खासगरी जिल्ला स्तरीय यस्ता कार्यक्रमहरुमा सहभागिता भने न्यून देखिने गरेको छ । केही कार्यालय प्रमुख र सुरक्षाकर्मीको सहभागिता भएपनि यस्ता दिवसहरुमा राजनीतिक दल र तिनका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता हुनुपर्ने भएपनि दलका नेताहरु नै यस्ता कार्यक्रमहरुमा कम संख्यामा देखिने गरेको कुरा जो कोहीले महशुस गरेकै विषय हो । हुनत गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ, तर उपस्थिति भने अत्यन्त न्यून । लोकतन्त्रका पक्षधर राजनीतिक दलहरुकै अगुवाईमा मुलुकमा निरंकुशता विरुद्धको आन्दोलन भएको हो । निरंकुशताको अन्त्यका लागि नेपाली जनताले बलिदान समेत दिएका छन् ।
जनताको यस्तो बलिदानको सम्मानकालागि पनि दलहरुले गणतन्त्र दिवसलाई आफ्नै कार्यक्रम सम्झेर उल्लेख सहभागिता जनाउनु पर्ने हो, तर, त्यसमा कमी देखिने गरेको छ । आफ्नै प्रयास र सहभागितामा आएको परिवर्तनको द्योतक गणतन्त्र दिवसको उल्लास नै फरक हुने कुरा दोहो¥याई रहनु नपर्ला । यस दिवसका अवसरमा सार्वजनिक विदा समेत दिने गरिन्छ । विदा दिनुको कारण गणतन्त्र दिवस मनाउनकै लागि हो । तर, राष्ट्रसेवक कर्मचारी समेतको यस्ता विदसमा सहभागिता न्यून रहँदै आएको छ । विदालाई घरमै बसेर मात्र बिताउन दिने हो भने यसले गणतन्त्र दिवसको गरिमालाई कसरी बढाउला ? आफैले ल्याएको परिवर्तनलाई गरिमामय तुल्याउन र यसको महत्व बुझाउन राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी, आमनागरिक समूदाय सबैको सहभागितामा उल्लासमय ढंगबाट गणतन्त्र दिवस मनाउने परम्परा स्थापिन गरिनु आवश्यक छ ।