राजविराज, १५ जेठ । राजविराजमा आयोजित एक कार्यक्रममा सहभागी वुद्धिजिविहरुले माग संशोधन बिना चुनावमा भाग लिनु आत्महत्या गर्नु जस्तै भएको भन्दै कुनै पनि हालतमा चुनावमा भाग नलिन सुझाव दिएका छन् ।
राष्ट्रिय जनता पार्टी सप्तरीले राजविराजमा सोमवार आयोजित ‘स्थानीय तहको चुनाव वहिष्कार’ सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले नेताहरुलाई यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्प राजविराजका पूर्व क्याम्पस प्रमुख प्रा. अमरकान्त झाले संसदमा पेश गरिएको संशोधन प्रस्ताव पारित नगरेसम्म चुनावमा जानुको औचित्य नरहेको बताउँदै उनले शहिदको बलिदानी र मधेशी जनताको म्याण्डेटसमेतलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्राध्यापक डा. हेमकुमार मिश्रले गुलामीको दासता लेखिएको लेखिएको संविधान विना संशोधन स्वीकार गर्न नसकिने भन्दै सरकारले चुनावको बहानामा संविधानलाई वैधता दिन खोजेको बताए । ‘अहिलेको अवस्थामा चुनावमा जानु भनेको शहिदको बलिदानी र मधेशी जनताको चाहना विपरित हो, संविधान संशोधनै नगरी चुनावमा जानु आत्महत्या गर्नु जस्तै हो ।’
कार्यक्रममा शिक्षक कैलाश प्रसाद यादवले मधेशको मुद्दा करिब साढे ६ दशकदेखि मधेशी सपूतहरुले उठाउँदै आएको चर्चा गर्दै मधेशी नेताहरु मुद्दाहरुलाई समेत विर्सेको आरोप लगाए । समय लागे पनि मधेशको मुक्ति हुने बताउँदै उनले भने ‘मधेशका नेता बिक्न सक्छ तर इश्यु र जनता बिक्दैन ।’
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले संविधान संशोधन नभएसम्म आफुहरु चुनावमा नजाने प्रतिवद्धता व्यक्त गरे । मधेश आन्दोलन र मधेशी जनताको भावनालाई कुठाराधात हुन नदिन राष्ट्रिय जनता पार्टी प्रतिवद्ध रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा चुनाव हुन नदिने उनले बताए ।
नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले जनआन्दोलन र मधेश आन्दोलनमा कर्मचारीहरुले निभाएको भूमिकाको चर्चा गर्दै आगामी दिनहरुमा समेत आफुहरु सहयोग गर्न पछाडि नहट्ने प्रतिवद्धता व्यक्त गरे । मधेश आन्दोलनको म्याण्डेन्ट र मधेशी जनताको भावनालाई आत्मसात गर्न अगाडि बढ्न आग्रह गर्दै उनले भने ‘मधेशी जनता र मधेशवादी दल तटस्थ भएर जनताप्रति वफादार भए हामी कर्मचारी पनि साथ दिन पछाडि हट्दैनौं ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, वौद्धिक समाज सप्तरीका अध्यक्ष ई. सुगम्बर यादव, शिक्षक मञ्च सुनसरीका अध्यक्ष रामनारायण यादव, सहायक क्याम्पस प्रमुख प्रा. मिथिलेश कुमार यादव, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डल, मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झा, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, नेपाल यादव सेवा समितिका अध्यक्ष ई. सुरत यादवलगायतले यथास्थितिमा चुनावमा जानुको औचित्य नरहेको ठहर गरे । कार्यक्रम सञ्चालन राजपाका जिल्ला नेता हरेराम यादवले गरे ।