• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

मैथिली चलचित्रको अवस्था तथा प्रवद्र्धन विषयक अन्तरक्रिया सम्पन्न

मैथिली चलचित्रको अवस्था तथा प्रवद्र्धन विषयक अन्तरक्रिया सम्पन्न

राजविराज, १४ जेठ । मैथिली चलचित्रको अवस्था तथा प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम आइतवार राजविराजमा आयोजना गरियो ।
चलचित्र विकास बोर्ड काठमाण्डौको सहयोगमा नेपाल मैथिली कलाकार संघद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोजक संस्थाका अध्यक्ष सङ्गीतकार कमल मण्डलले मैथिली चलचित्रको इतिहास सन् १९६५ मा भारतमा निर्माण भएको कथानक फिल्म कन्यादानमा आंशिक रुपमा मैथिली भाषा प्रयोग भएको जानकारी दिएका छन् । उनका अनुसार मैथिलीमा दोस्रो चलचित्र ममता गाबय गीत १९७० मा रिलिज भएको थियो ।
नेपालमा प्रजातन्त्र प्राप्ति पश्चात पहिलो पटक जनकपुरबाट ‘दहेज’ नामक मैथिली चलचित्र निर्माण भएको तथा तत्पश्चात जनकपुर बाहेक सिरहा, सप्तरी, सुनसरी, बिराटनगरबाट पनि मैथिली फिल्म निर्माण हुने क्रम बढेको कार्यपत्रमा उल्लेख छ । मैथिली भाषाको फिल्महरुको विकासकालागि कुनैै ठोस योजना नबनाएको भन्दै मैथिली चलचित्र विकास बोर्ड बन्नुपर्नेमा उनले जोड दिए । मैथिली चलचित्रको यात्रा कलाकारहरुको आँट, संकल्प र प्रतिवद्धतामा टिकेको कार्यपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले मैथिली फिल्महरुको निर्माणमा तुलनात्मक रुपमा बृद्धि भए पनि गुणस्तरीयता आउन नसकेको बताए । ‘धेरै फिल्म निर्माण हुनुभन्दा कमै फिल्म निर्माण होस् तर दक्ष एवम् अनुभवी व्यक्तिहरुको सहभागिता गुणस्तरीय फिल्म निर्माण हुनु जरुरी छ’ उनले भने ‘दक्ष कलाकारहरुलाई स्थान नदिई निर्माता–निर्देशकहरुले नातागोता प्रयोग गर्ने प्रवृति बढेकोले त्यसलाई अन्त्य गर्नुपर्दछ ।’
सप्तरी जिल्लाका कलाकारहरु देशका विभिन्न स्थानमा रहेर नेपाली, मैथिली, थारुलगायत भाषाका फिल्महरुमा उदाहरणीय काम गरिरहेको चर्चा गर्दै एक–अर्का बीच समन्वय एवम् सहयोग आदान–प्रदान हुनुपर्नेमा जोड दिए । वर्तमान अवस्थामा मैथिली फिल्मको बजार ठूलो रहेको बताउँदै प्रमुख अतिथि यादवले भने ‘नेपालको मिथिला क्षेत्र र भारतीय मिथिलाका साथै इन्टरनेटको माध्यमबाट समेत विश्वका विभिन्न देशहरुमा राम्रो बजार पाउन सकिन्छ ।’ देशकै अति प्राचीन एवम् दोस्रो भाषा मैथिलीलाई सरकारले समेत उपेक्षा गरेको चर्चा गर्दै आ–आफ्नै स्तरबाट कला क्षेत्रमा मजबुत आत्मबलकासाथ गुणस्तरीय काम गर्न उनले आग्रह गरे ।
कार्यक्रममा नायक निराजन मेहताले मैथिली भाषाको चलचित्र क्षेत्रको विकासकालागी सरकारले हालसम्म बेवास्ता गर्दैआएको बताए । सरकारलाई आफुहरुले कर तिर्दै आए पनि सुविधाको नाउँमा केही पनि नपाएको गुनासो गर्दै भाषाभाषीको फिल्मलाई करमा समेत छुट नदिएको उनले बताए ।
कार्यक्रममा फिल्म निर्माता एवम् निर्देशक धर्मेन्द्र धर्मात्माले मैथिली फिल्म निर्माणका क्रममा गर्नुपरेको संघर्षयात्राबारे चर्चा गरे । मैथिली क्षेत्रमा आफुहरुले हालसम्म आर्थिक रुपमा सबलता हुन नसके पनि बाँचुञ्जेल संघर्ष गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकार शुभनारायण यादव, डिएनए फिल्म प्रोडक्सनकी अध्यक्ष अनिता यादव, नायक सुरज साह, सौगात फिल्म्सका अध्यक्ष सागरवीर कडारी, कलाकारहरु महेन्द्र प्रसाद मण्डल बनवारी, जिबछ दास, गायिकाद्वय मुनचुन देव, अन्जु यादवलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन फिल्मकर्मी धर्मेन्द्र चौधरीले गरे ।