राजविराज, १४ जेठ । दोस्रो चरणको चुनावलाई लक्षित गरी राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीद्वारा शनिवार राजविराजमा लाठी जुलुस प्रदर्शन गरिएको छ ।
राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको लाठी जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ । वर्षाका बावजुद पनि व्यापक जनसहभागीता रहेको लाठी जुलुस नगर परिक्रमा पश्चात शहिद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । सभामा बोल्दै राजपाका नेताहरुले संविधान संशोधन गरी मधेशको माग सम्वोधन नगरिए कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् । 
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । आफुहरुको माग सम्वोधन नभएकोमा असन्तुष्टि जनाउँदै राजपासहितको गठबन्धनले चुनाव लक्षित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
जेठ १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । जेठ १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान समेत गरेको छ ।

