• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. डिके अरविन्दको निधनः अञ्चल अस्पताल शोकमग्न

डा. डिके अरविन्दको निधनः अञ्चल अस्पताल शोकमग्न

राजविराज, १२ जेठ । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत गाइनेकोलोलोजिष्ट डा. डि.के. अरबिन्द (ध्रुव कुमार)को विहीवार साँझ मृत्यु भएको छ ।

भारतको गणपतगञ्ज निवासी डा. अरबिन्दको ५२ वर्षको उमेरमा ब्रेन हेमरेज भई मृत्यु भएको हो । अस्पतालमा विहीवार समेत राउण्डमा विरामी हेरेर क्वाटर पुगेका उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो । तत्काल अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचार पश्चात थप उपचारकालागि विराटनगर लगिने क्रममा करिब पौने पाँच बजेको समयमा मृत्यु भएको अस्पतालका कार्डियोलोजोजिष्ट एवम् डायविटोलोजिष्ट डा. रञ्जीत कुमार झाले जानकारी दिएका छन् ।
भारतको आसाम, नेपालका धरान हुँदै राजविराजमा विगत १८ वर्षदेखि अस्पतालमा निःशुल्क सेवा प्रदान गर्दैआएको अस्पतालका डा. टेकनारायण मण्डलले बताएका छन् । डा. अशोकानन्द मिश्र मेडिकल सुपरिन्टेन्डेट रहँदा डा. अरबिन्द राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सेवा प्रारम्भ गरेका थिए ।
इमानदार एवम् अनुभवी चिकित्सकको रुपमा डा. अरविन्दलाई आफुले चिनेको डा. मण्डलले बताए । १८ वर्षसम्म अस्पतालमा निःशुल्क सेवा गरेर अस्पताल मात्र नभई सिङ्गो जिल्ला एवम् अञ्चलवासीलाई ठूलो गुण लगाएको बताउँदै डा. मण्डलले भने ‘हामीले अति मिलनसार एवम् निस्वार्थ सहकर्मी गुमाएका छौं, उनको व्यक्तित्वका जति चर्चा गरे पनि कमै हुुन्छ ।’
करिब १४ वर्ष अघि अस्पतालमा डेढ वर्षसम्म गाइनेकोलिष्टको जिम्मेवारी सफलतापूर्वक सम्हालेको चर्चा गर्दै अन्य चिकित्सकहरुले उनको व्यक्तित्वबाट सिक्नुपर्ने डा. मण्डलले बताए । दिवङ्गत डा. अरविन्दकी पत्नी सुनिता परियार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत छिन् ।
डा. अरविन्दको निधनको शोकमा शुक्रवार अञ्चल अस्पतालमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको डा. रञ्जित झाले जानकारी दिएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित सम्पूर्ण कर्मचारीहरुले डा. अरविन्दको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए । कार्यक्रममा अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. दयाशंकर लाल कर्णले श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत डा. अरविन्दको व्यक्तित्व र योगदानबारे चर्चा गरे ।