• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मिथिलाञ्चलमा बरसाइत पर्वको रौनक

राजविराज, ११ जेठ । मैथिल महिलाहरुले विहीवार भव्यताका साथ सप्तरीसहित मधेशका जिल्लाहरुमा वरसाइत पर्व मनाएका छन् ।

पतिको दिर्घायु, सुख, समृद्धि, र परिवारको कल्याणकालागि मैथिल महिलाहरुले यो पर्व मनाउँदैआएका हुन् । यस पर्वको अवसरमा राजविराजको भगवती पोखरी प्राङ्गणमा रहेको वरको रुखमुनि पूजाआजा गरेका छन् । यस अतिरिक्त सप्तरीसहित मिथिलाञ्चलभरि नै महिलाहरुले यो पर्व मनाएका छन् ।
पर्वमा वरको रुखमा गई पूजा आराधना गर्ने गरिन्छ । वरको रुखमा ब्रम्हा र विष्णुको वास समेत हुने जनविश्वासका साथ वर पूजा गर्ने भएकोले यस पर्वलाई बट सावित्री पर्व पनि भन्ने गरिन्छ । पौराणिक कथाअनुसार सावित्रीले वरकै रुखमुुनि आराधना गरी मृत पति सत्यवानलाई पुनर्जीवित तुल्याएकी थिइन् । वरको रुखमा रहेको धोद्रोबाट निस्केको सर्पले टोक्दा सत्यवान मृत अवस्थामा पुगेका र रुखमुनि यमराजको आराधना समेत गरी सावित्रीले पतिलाई पुनर्जीवित तुल्याएको कारणले त्यहिबेलादेखि वरसाइतको ब्रत मनाईने गरिएको जनविश्वास रहेको छ ।
जेष्ठ महिनाको अमावश्याका दिन गरिने वरसाइत व्रतभन्दा एक दिनप्ूर्व नै नव विवाहिता बेहुलीले पतिको घरबाट आफ्नो माइतमा पठाइएको सामग्रीले ”गौरी नैवेद्य” चढाउने चलन छ । यसमा धानको लावा भुटेर बेसारको गौरी बनाई पूजा गरिन्छ । वरको रुखलाई रंगाईएको काँचो धागो बेरेर पूजा आजा गरेपछि सोही ठाउँमा बट सावित्रीको कथा समेत श्रवण गर्ने प्रचलन रहेको छ ।