राजविराज, ११ जेठ । सप्तरीको मलेठ नरसंहारको छानविन गर्न गठित उच्चस्तरीय छानविन आयोगको टोलीले अध्ययन अनुसन्धान कार्यलाई निरन्तरता दिएका छन् ।
नेपाल सरकारद्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा गठित टोलीले घटनाको विषयमा अध्ययन–अनुसन्धान कार्यलाई निरन्तरता दिएको हो । पूर्व न्यायाधीश अन्सारी नेतृत्वको टोलीले प्रहरीको गोलीबाट पाँच जना मारिएको घटनास्थल पुगेर पीडित परिवार, प्रत्यक्षदर्शी, घटनास्थल, एमालेले आयोजना गरेको कार्यक्रम स्थलको अवलोकन गरेका छन् ।
टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कट्वाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान प्रहरी, राजनीतिक दल, मानवअधिकारकर्मी, कानूनव्यवयासी, पत्रकार, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आवद्ध दलका अध्यक्षहरु, नागरिक समाज, युवासमेतका प्रतिनीधि एवम् प्रत्यक्षदर्शीसँग घटनाबारे जानकारी लिएका छन् । टोलीले गोप्य रुपमा अन्य आवश्यक सरोकारवाला पक्षसँग जानकारी लिने कार्यलाई निरन्तरता दिएका छन् ।
उच्चस्तरीय छानबिन आयोगको टोलीले शुक्रवारसम्म सप्तरीमा रहेर अध्ययन अनुसन्धान कार्यलाई निरन्तरता दिने जनाईएको छ । टोलीमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयकी मन्जु खतिवडा समेतका रहेका छन् ।