राजविराज, ९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले संसदमा पेश गरिएको संशोधन प्रस्ताव मधेशवादी दलको नभई मधेशी जनताको भएकाले अविलम्व संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस नगर कार्यसमिति राजविराजले मंगलवार आयोजना गरेको स्थानीय तह निर्वाचन सम्वन्धमा आपसी छलफल तथा अन्तरक्रियामा वोल्दै उनले यस्तो वताएका हुन् । नेता कोइरालाले भने ‘संसदमा प्रस्ताव गरिएको नागरिकता, भाषा, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयहरु नेपाली कांग्रेसमा लागेका मधेशी जनताको प्रस्ताव भएकोले यसलाई अविलम्व पारित गर्नुपर्दछ ।’ नेपाली कांग्रेस मधेशको मुद्दाप्रति गम्भीर रहे पनि संशोधन प्रस्ताव पारित हुन नदिनुमा नेकपा एमाले मुख्य बाधक रहेको उनले प्रष्ट पारे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसँ साँठगाँठ गरेर नेकपा एमाले राजतन्त्र फर्काउने र संघियता समाप्त गर्ने खेलमा लागेको नेता कोइरालाले आरोप लगाए । सबभन्दा ठूलो पार्टीको रुपमा कांग्रेस स्थापित रहँदैआए पनि पहिलो चरणको स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नदेखिएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई निश्चिन्त भएर चुनावको तयारीमा लाग्न उनले निर्देशन दिए । मधेश कांग्रेसको गढ भएको बताउँदै नेता कोइरालाले भने ‘अब हुने चुनावमा नेपाली कांग्रेस पहिलो मात्र नभई डिस्टिंक्सन आउने निश्चित छ ।’
जनताविच लोकप्रिय ब्यक्तिलाई उमेदवार नवनाएका कारण काठमाण्डौं महानगरपालिकामा यस पटक पार्टीले पराजय ब्यहोरेको बताउँदै अबको चुनावमा जनप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिए । पार्टीले विगतमा गरेका गम्भीर त्रुटीहरुबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै नेता कोइरालाले आपसी मतमतान्तर त्यागेर जीतको तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि पुर्व केन्द्रिय सदस्य रामकुमार चौधरीले पार्टीमा सुकिलामुकिला हावी हुन थालेको भन्दै पार्टी संगठनमा नेतृत्व तहले ध्यान दिनुपर्नेमा जोड दिए । नगर सभापति शम्भुलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला विकास समिति सप्तरीका पूर्व सभापति बिरवल विराजी, पार्टीका जिल्ला सचिव रामकुमार यादव, रामदेव साह, महानन्द यादवलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन युवा नेता सब्बीर आजमले गरे ।