• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कम्युनिष्ट नेताहरुले जनवादको नाममा जनैवादको काम गरिरहेको छः लेखी

कम्युनिष्ट नेताहरुले जनवादको नाममा जनैवादको काम गरिरहेको छः लेखी

चन्दन रौनियार
सुनसरी, ९ जेठ । राष्ट्रिय जनता पार्टीका महासचिव राजकुमार लेखीले प्रमुख दलका शिर्ष नेताहरुलाई जेल हाल्नुपर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा मङ्गलवार प्रेस मञ्च नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । टिकापुर घटना राजनीतिक घटना भएको दावी गर्दै लेखीले यदि राजनीतिक घटनाका आधारमा जेल जानुपर्ने भए देउवा, ओली, खनाल, नेपाल, दाहाल सवै जेल जानुपर्ने विचार व्यक्त गरे ।
पटक पटकका राजनीतिक गतिविधीमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले २५ हजार नेपाली जनता मारेको भन्दै लेखीले भने ‘एमालेका केपी ओली, माधव नेपाल, झलनाथ खनाल लगायत कांग्रेसका शेरबहादुर देउवा, अनि माओवादीका पुष्पकमल दाहाललाई जेल हाल्नुपर्छ ।’ टिकापुर घटनामा जोडिएकाहरुलाई लागेको मुद्दा सरकारले फिर्ता लिएकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको भन्दै लेखीले कार्यपालिकाको निर्णयलाई न्यायपालिकाले धज्जी उडाएको आरोप लगाए ।
राष्ट्रिय जनता पार्टी नेपाल, लोकतन्त्र र समाजवादलाई एजेण्डा बनाएर अघि बढेको पार्टी भएको भन्दै लेखीले पार्टीलाई कमजोर नठान्न चेतावनी दिए । उनले आफ्नो पार्टी व्यवस्थापिका संसदमा पाँचौँ ठुलो दल रहेको भन्दै राजपामा भाञ्जा, भतिजा, भाइ भएकै आधारमा स्थान नदिईने बताए ।
सरकारले हिजो विराटनगर र बीरगञ्जलाई महानगरपालिका घोषणा गरेकोमा स्वागत गर्दै महासचिव लेखीले आफुहरुले १०–२० वटा नगरपालिका र गाउँपालिका थप्न भिख नमागेको बताए । उपेन्द्र यादव र विजय गच्छदारलाई केशरजङ्ग रायमाझी, तुलसी गिरीहरुसँग तुलना गर्दै उनीहरु चरम अवसरवादी रहेको बताए ।
संविधान संसोधन नगरी यथास्थितीमा कुनै पनि हालतमा चुनाव हुने नदिने भन्दै लेखीले राजमार्ग दक्षिण तराईका जिल्लामा चुनाव गरेर देखाउन सरकारलाई चुनौती दिए । कम्युनिष्ट नेताहरुले जनवादको कुरा गर्दै जनैबादको काम गरेको महासचिव लेखीले आरोप लगाए ।