• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नीजि विद्यालयहरुले लुकाउँछन् दलित छात्रवृति

नीजि विद्यालयहरुले लुकाउँछन् दलित छात्रवृति

राजविराज, ८ जेष्ठ । सप्तरी जिल्लाका अधिकांश नीजि विद्यालयले दलित छात्रवृति नदिने गरिएको तथ्यांक सार्वजनिक भएको छ ।

दलित सरोकार मञ्च नेपालले सोमवार राजविराजमा आयोजना गरेको ‘नीजि विद्यालयको छात्रवृत्ति वितरण सम्वन्धि नीति र कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया गोष्ठिमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । निजी विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को परिच्छेद ६ छात्रवृत्ति सम्वन्धी ब्यवस्थाको ६.१ मा कक्षाको पहिलो विद्यार्थीलाई शतप्रतिशत र दोस्रो विद्यार्थीलाई ५० प्रतिशत शुल्क मिनाह गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनु पर्ने तथा ६.२ मा संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको कम्तिमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपांग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रावृत्ति उपलब्ध गराउनु पर्ने ब्यवस्था रहे पनि अध्ययनका क्रममा वास्तविक्ता अर्कै फेला परेको भोला पासवानले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।
मधेशका डोम, चमार, मुसहर तथा पहाडका गाईने वादीलाई भौचरका आधारमा पढन पाउने सरकारी नीति रहेपनि कतिपय विद्यालयले त्यस्ता विद्यार्थीलाई ५ प्रतिशत मात्रै छुट दिएको, प्रक्रियागत रुपमा एउटा विद्यालयले पनि छात्रवृत्ति वितरण नगरेको, अधिकांश विद्यालयले ३ जनामा एक जना विद्यार्थीलाई निशुल्क पढाउने नीति अंगिकार गरेको, प्रथम र द्वितिय हुने विद्यार्थीलाई पनि छुट नदिएको, कतिपय विद्यालयले एक जना विद्यार्थीलाई पनि छुट नदिएको र अधिकांश विद्यालयले छात्रवृत्ति वितरण सम्वन्धि अभिलेख समेत नराखेको अध्ययनका क्रममा फेला परेको उनको अध्ययनले देखाएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले दलित छात्रवृति सम्वन्धि प्रावधानलाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा प्याब्सनका अध्यक्ष पञ्चदेव यादव, एन–प्याब्सनका उपाध्यक्ष नरेशप्रताप साह, प्याव्सनका सचिव सञ्जय शर्मा लगायतले मन्तव्य व्यक्त गरे । संस्थाका अध्यक्ष युक्ति मरिकको अध्यक्षता तथा सप्तरीका एलडिओ सुदेव पोखरेलको प्रमुख अतिथ्यमा कार्यक्रममा आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका राजकुमार पासवानले गरे ।