बृजमान तामाङ्ग
बिरेन्द्र बजार ७ जेठ । संघीय गठबन्धनका कार्यकर्ताहरुले सप्तरी जिल्लामा निर्वाचन शिक्षा सम्बन्धी सामग्रीहरु नियन्त्रणमा लिएर आगजानी गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।
गठबन्धनले राजविराज नगरपालिकासहित जिल्लाको विभिन्न स्थानमा निर्वाचन शिक्षा सम्बन्धी सामग्रीहरु नियन्त्रणमा लिएर जलाउने गरेका हुन् । यस अतिरिक्त विभिन्न स्थानमा टाँसिएका पोष्टरहरु समेत गठबन्धनले च्यात्ने गरेको जनाईएको छ ।
आगामी जेठ ३१ गतेको दोश्रो चरणको निर्वाचनलाई लक्षित गरी आयोजना गरेको निर्वाचन शिक्षा कार्याक्रममा गठबन्धनमा आवद्ध पार्टीका कार्यकर्ताले मतदाता शिक्षा हातेपुस्तिका, नमुना मतपत्र, निर्वाचन आचारसंहिता सम्वन्धी कागजपत्र नियन्त्रण लिएर आगजानी गरेका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–२ स्थित तरहौतामा शनिवार निर्वाचन शिक्षा सामग्रीमा आगजानी गरेका छन ।
साबिक तरहौता गाविस हाल रुपनी गाउँपालिकाको वडा कार्यालयमा आयोजित निर्वाचन शिक्षा कार्यक्रममा संबिधान संशोधन बिना कुनै पनि निर्वाचन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न नदिने संघीय गठबन्धनका कार्यकर्ताले चेतावनी दिएका छन । गठबन्धनका कार्यकर्ताले विरोध जनाएपछि कार्यक्रम स्थगित गरेको निर्वाचन शिक्षा कार्यकर्ता अमृतलाल चौधरीले बताए । कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्ता अमृतलाल चौधरी, तारा कुमारी चौधरी, आशा साह र देवकी कुमारी चौधरीले सहजिकरण गर्ने कार्यक्रम रहेको थियो ।