• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘दाइजो प्रथा उन्मूलन गर्न ठोस कदम चाल्नुपर्छ’

‘दाइजो प्रथा उन्मूलन गर्न ठोस कदम चाल्नुपर्छ’

राजविराज, ५ जेठ । स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले मिथिला समाज व्याप्त दहेजप्रथाका कारण महिला हिंसाका घटना अत्यधिक हुने गरेकोले उन्मूलनकालागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समिति सप्तरीको सहयोगमा दहेजमुक्त मिथिला नेपालद्वारा छिन्नमस्ता एजुकेशनल एकेडेमीमा शुक्रवार आयोजित दहेज प्रथा उन्मूलन सचेतना गोष्ठिमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । समाजिक कुरितीको रुपमा समाजमा जरो गाडेको दाइजो लेनलेनलाई रोक्न आ–आफ्नो स्थानबाट सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उनले भने ‘मिथिला संस्कृतीको छुट्टै पहिचान छ तर दहेजप्रथाका कारण महिला हिंसाका घटना अत्यधिक हुने गरेकोले यसको उन्मूलन हुनु अति आवश्यक छ ।’
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डलले समाजमा छोरीलाई विदाई गर्ने बेलामा आवश्यक सरसमान दिईने चलन रहेकोमा वर्तमान अवस्थामा यो चलनले दाइजो नामक भयानक कुप्रथाको रुपमा विकसित हुँदै गएको बताए । ‘समाज जतिजति शिक्षित हुँदै गएको छ, त्यतित्यति यो कुप्रथाले जरो गाड्दैगएको छ’ उनले भने ‘दाइजो लेनदेन गर्नेलाई सामाजिक रुपमै वहिष्कार गर्नुपर्दछ ।’
मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाले दहेजप्रथा र जन्ती सम्वन्धी कानून बने पनि कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । दहेज सम्वन्धी कानूनी प्रावधान फौजदारी अभियोग जस्तै सजाय हुने व्यवस्था रहे पनि कार्वाही गर्ने निकाय मौन रहेको उनले टिप्पणी गरे ।
वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार मनोहर कुमार पोखरेल, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, विद्यार्थीद्वय पवित्रा परियार, सन्तोष झालगायते दाइजो प्रथाबारे विचार व्यक्त गरे ।
कार्यक्रममा अध्यापक वन्दना मिश्रले मिथिला समाजमा दहेज प्रथा सम्वन्धी कार्यपत्र प्रस्तुत गरिन् भने कार्यक्रममा स्वागत मन्तव्य आयोजक संस्थाकी साधना झा तथा कार्यक्रम सञ्चालन अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झाले गरिन् ।