• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

आठ वर्षयता वैदेशिक रोजगारीमा सप्तरीका १ सय २८ युवाको मृत्यु

आठ वर्षयता वैदेशिक रोजगारीमा सप्तरीका १ सय २८ युवाको मृत्यु

राजविराज, ४ जेठ । विगत आठ वर्षयता सप्तरी जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरुमध्ये मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।

रोजगारीमा गएकाहरुमध्ये २०६७ सालदेखि हालसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १ सय २८ देखाएको हो । २०६६÷०६७ मा मृत्यु हुने कामदारको संख्या १ मात्र रहेकोमा यो क्रम वृद्धि हुँदै २४ सम्म पुगेको छ । सुरक्षित आप्रवासन (सामी) परियोजनाका अनुसार २००८/००९ मा १, २००९/०१० मा ७, २०१०/०११ मा १५, २०११/०१२ मा १९, २०१२/१३ मा ९, २०१३/०१४ मा १९, २०१४/०१५ मा २४, २०१५/०१६ मा ११ र २०१६/१७ मा १९ जना सप्तरीवासीको मृत्यु भएको छ । पुस महिनायता छपकी भथौल, कटैया र मुसहर्नियाका गरी थप तीन जना युवाको मृत्यु भएको वैदेशिक रोजगार सम्वन्धी मिडिया पार्टनर कार्यक्रम अधिकृत चन्दन कुमार यादवले जानकारी दिएका छन् ।
जिल्लाको कुल जनसंख्या ६ लाख ३९ हजार २ सय ८४ रहेकोमा २०६३ साल यता वैदेशिक रोजगारीमा जानेहरुको संख्या ९० हजार ७ सय ५८ रहेको छ । जिल्लाको कुल जनसंख्यामध्ये १४.२० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) परियोजनाद्वारा सञ्चालित सूचना केन्द्रका संयोजक प्रमेश मण्डलले जानकारी दिएका छन् । उनका अनुसार सप्तरीका युवाहरुको मुख्य गन्तव्य मलेसिया, युएई, कुवेत र बहराइन रहेको छ । २०६७ देखि २०७२÷०७३ को विश्लेषणात्मक तथ्यांक हेर्दा वैदेशिक रोजगारीमा मलेसिया सर्वाधिक अर्थात ३१ हजार ९ सय ७१ रहेको छ । त्यसपछि दोस्रो रोजाई यु.ए.ई.मा २ हजार ३ सय ६४, तेस्रो मुलुक कुवेतमा १ हजार ६ सय ६४ र चौथोमा बहराइन जाने कामदारको संख्या १ सय २९ रहेको छ ।
स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारी युवाहरुको मुख्य आकर्षण बन्न पुगेको छ । कक्षा १० सम्मको पढाई पुरा नगर्दै उमेर बढाएर वैदेशिक रोजगारीमा जाने गरेको पाईएको छ । विदेशमा मजदुरी गर्न गएकाहरुमध्ये मृत्यु हुनेहरुको उमेर समूह २० देखि ४० वर्ष रहेको छ ।
उक्त देशहरुमा बाहिर उच्च तापक्रममा काम गर्नुपर्ने तथा कामबाट फर्केपछि कोठामा एसीमा सुत्ने गरेको तथा तथा केहीले भने थकान मेटाउने बहानामा मदिरा सेवन गरेर सुत्ने गरेकोले सुतेकै अवस्थामा अधिकांश कामदारको मृत्यु हुने गरेको वैदेशिक रोजगारीको अनुभव समेत सँगालेका सिनियर अहेव महेन्द्र ठाकुरको भनाइ छ । यस अतिरिक्त ट्राफिक नियम सम्वन्धी समेत जानकारी नहुँदा सडक दुर्घनामा परी समेत ज्यान गुमाउनेहरुको संख्या समेत अत्यधिक रहेको उनले बताए । उनका अनुसार कतिपय घटनामा तमिल तथा स्थानीय अन्य अपराधी समूहहरुको शिकार समेत युवा कामदारहरु बन्ने गरेका छन् ।
यसअतिरिक्त एजेन्ट र म्यानपावर कम्पनीले कबोल गरेको काममा नपठाई अन्यत्र आउटडोरको गाह्रो काममा खटाउनु, ठगीमा पर्नुलगायतका समस्याहरुले गर्दा केही युवा कामदार सहारा नपाएर आत्महत्या गर्न समेत बाध्य हुने गरेको पछिल्ला केही घटनाहरुबाट बुझिएको छ । कतिपय कामदार भने धान्नै नसक्ने खालको कामको लोड तथा स्थानीय गिरोहहरुको तनावलगायतका समस्याहरु सहन नसकी आतिएर आत्महत्या गर्ने गरेको मलेसियामा कार्यरत एक कामदारको भनाई छ ।
सुन्दर सपना साँचेर वैदेशिक रोजगारीमा युवाहरु जाने गरेको तर बाकसमा लाश प्याक भएर आउने क्रम बढ्नु दुर्भाग्यपूर्ण भएको प्रा. अमरकान्त झा बताउँछन् । आफ्नै गाउँठाउँ तथा देशमा रोजगारी अवसरहरु सिर्जना नहुनु, राजनीतिक अस्थिरता र गरिबीका कारण समाज र राष्ट्र निर्माण गर्ने युवा जनशक्ति विदेशिनुपर्ने अवस्थालाई सम्वन्धित पक्षले गम्भीर रुपमा लिनुपर्ने उनको सुझाव छ । उर्जावान युवा जनशक्ति विदेश पलायन हुनुले उच्च शिक्षा अध्ययन गर्ने युवाहरुको संख्या विस्तारै घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रा. झाले भने ‘सप्तरीबाट मात्रै यति धेरै संख्यामा युवा शक्ति विदेश पलायन हुनु र मृत्यु हुने संख्या समेत अत्यधिक हुनु गम्भीर चिन्ताको विषय भएकोले यसतर्फ राज्यपक्ष गम्भीर बन्नु जरुरी छ ।’