• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गृहमन्त्री निधीद्वारा शहिद परिवारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण

गृहमन्त्री निधीद्वारा शहिद परिवारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण

राजविराज, ३ जेठ । उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले हिमाल पहाड र तराई मधेशमा बस्ने सम्पूर्ण नेपालीको संविधान भएकोले कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
सप्तरीका मलेठ घटनामा प्रहरीको गोलीबाट मारिएका पाँच जना शहिद परिवारलाई राजविराजमा १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै उनले यस्तो कुरा बताएका हुन् । संविधानमा देखिएको त्रुटीलाई सच्याए मधेशी जनताले समेत स्वीकार गर्न तयार रहेको बताउँदै गृहमन्त्री निधीले भने ‘हिमाल पहाड र तराई मधेशमा बस्ने सम्पूर्ण नेपालीको संविधान भएकोले कार्यान्वयन गर्नु सबैको साझा दायित्व हो तर संविधानमा देखिएको त्रुटीहरु संशोधन हुनु पर्दछ ।’

राष्ट्रिय समझदारी गरेर देशमा गणतन्त्र र संघीयता आएको भन्दै जनताले प्राप्त गरेको उपलब्धीहरुको रक्षा हुनुपर्नेमा उनले जोड दिए । सप्तरीको मलेठ घटना दुर्भाग्यपूर्ण भएको बताउँदै उनले भने ‘मलेठ घटना दुर्भाग्यपूर्ण हो, उक्त घटनाप्रति माफी चाहन्छु ।’ घटनामा मारिएका पाँचै जनालाई शहिद घोषणा गरिएको भन्दै सत्यतथ्य छानविनकालागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश अलि अकबर मिकरानीको संयोजकत्वमा गठित समितिले केही दिनभित्रै छानविन प्रक्रिया अगाडि बढाएर एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गरिने उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालको अध्यक्षतामा आयोजित कार्यक्रममा उप–प्रधान तथा गृहमन्त्री निधीले मलेठ घटनामा मारिएका सञ्जन मेहता, पीताम्बर मण्डल, सिनियर अहेव आनन्द कुमार साह, विरेन्द्र महतो र ईनर यादवका परिवारजनलाई जनही १०÷१० लाखको चेक हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय जनता पाटी, संघीय समाजवादी फोरमलगायत विभिन्न पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।